काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले तिहारलगायत नजिकिँदै गरेका अन्य विभिन्न चाडपर्वहरूलक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।
प्रहरी परिचालन एवम् कार्यान्वयन गरी कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने उनको भनाइ छ ।
नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रम बीच नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त सनर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक केसीले काठमाडौं उपत्यकाको प्रभावकारी सुरक्षा व्यवस्था कार्यान्वयनलाई प्राथमिकतामा राखि चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी, लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताए ।
आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने उनले बताए ।
प्रहरी महानिरीक्षक केसीले चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिँदै ट्राफिक व्यवस्थापनलाई नागरिकको अपेक्षा अनुरूप सहजीकरण गरी आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्नेमा विशेष जोड दिएका छन् । साथै प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्नु पर्नेमा उनले जोड दिए ।
विशेष गरी चाडपर्वहरूको समयमा पटका लगायतका विष्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले काठमाडौं उपत्यकाको शान्ति सुरक्षा, चुनौतीहरू र अपनाउनुपर्ने सुरक्षा सावधानी लगायत समसामयिक विषयवस्तुको बारेमा जानकारी दिएका छन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरूको उपस्थितिको रहेको थियो ।