काठमाडौं । नेपाल प्रहरीले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रबाट सेवा प्रारम्भ गरेको छ । प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले सो सेवा शुभारम्भ गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले साइबर, अनलाइन ठगी अहिलेको चुनौतीको रूपमा देखा परिरहेको अवस्थामा त्यसलाई उचित सम्बोधन गर्न त्यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण निकायहरूको आपसी सहयोग, समन्वय र सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको बताए । सबै सम्बन्धित निकायहरूको सहकार्यबाट प्रभावकारी अनुसन्धान हुने विश्वास समेत उनले व्यक्त गरेका छन् ।
मन्त्रीस्तरको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (आईएसीएससी) स्थापना र कार्यसञ्चालनसम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम केन्द्र स्थापना गरिएको हो ।
स्थापना भएको यस केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, वालेट, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा कार्य गरी साइबर स्क्याम र ठगीहरूलाई यथाशीघ्र प्रतिकार्य गरी जोखिम घटाउँदै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखेको छ ।
साइबर ठगीसम्बन्धी उजुरी तथा सूचनाहरूलाई २४ सै घण्टा प्राप्त गर्नका लागि सम्पर्क अधिकृत तोकी १२४७ आकस्मिक फोन नम्बर समेतको व्यवस्था गरिएको छ ।
कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, साइबर ब्यूरोका प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक नवीन्द अर्याल, विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू, डिजिटल वालेट/भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरू, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।