काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिह्नबाट सुशोभित भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट महानिरीक्षक पदमा पदोन्नति भएका उनलाई आजै गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्नबाट सुशोभित गरेका हुन् ।
समारोहमा गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त हुनुभएका प्रहरी महानिरीक्षक केसीलाई हार्दिक बधाई दिँदै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना दिए । उनले नवनियुक्त प्रहरी महानिरीक्षक केसीबाट नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने अपेक्षा रहेको स्पष्ट गरेका छन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी संगठनको नेतृत्वको जिम्मेवारी सुम्पिएकोमा नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरे । साथै संविधान र कानुनप्रति अविचलित रही नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरी राख्दै संगठनको मर्यादा, निष्पक्षतामा कुनै सम्झौता नगर्ने र आफ्नो कार्यकालको मूल्याङ्कन नेपाली जनतालाई के दिन सकेँ भन्नेमा आधारित रहने गरी प्राप्त जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक केसीले साइबर ठगी, वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक एवम् भ्रामक सूचनाहरू गम्भीर चुनौतीको रूपमा देखा परेको र त्यसलाई सम्बोधन गर्नुपर्ने तथा विपद् व्यवस्थापनमा समेत सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । स्रोतसाधन, भवनको अभाव, लामो कार्य घण्टा, सरूवा बढुवामा निष्पक्षता लगायतका आन्तरिक चुनौतीहरू सम्बोधन गर्न प्रणालीगत रूपमा विकास गर्नुपर्ने जरूरी रहेको र यसलाई आफूले अवसरको रूपमा लिएको उनको भनाइ थियो ।
कार्यक्रममा गृहसचिव केदारनाथ शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
दर्ज्यानी चिह्नद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक केसीले बुधबार आफ्नो कार्यकक्षमा पदबहाली गरेका छन् । प्रहरी महानिरीक्षक केसी नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गरेका थिए ।
प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गरे । साथै प्रहरी महानिरीक्षक डा.मनोज कुमार केसीको उपस्थितिमा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकको निर्णयले प्रहरी महानिरीक्षक पदमा डा.मनोज कुमार केसीलाई नियुक्त गर्ने निर्णय भएको सुखद अवसरमा नेपाल सरकारलाई हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्ने निर्णय गरिएको छ ।