काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार केसी नेपाल प्रहरीको ३४औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति भएका छन् ।
बुधबार (कात्तिक १८ गते) बसेको मन्त्रिपरिषद् बैठको निर्णयअनुसार उनी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति भएका हुन् ।
नुवाकोटको साविक तुप्चे–२ हाल बिदुर नगरपालिका वडा नम्बर ७ मा बुबा अशोक कुमार केसी र माता शान्ति केसीको कोखबाट वि.सं. २०३२ साउन २८ गते जन्मिएका प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीका श्रीमती सर्यू केसी र छोरा अंशुमन केसी छन् । वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गरेका उनले प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाएका छन् ।

उनी २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका थिए ।
एप्लाइड कन्फ्लिक्ट ट्रान्सफर्मेसन स्टडिजमा विद्यावारिधी गर्नुभएका प्रहरी महानिरीक्षक केसीले पिसकिपिङ एण्ड इन्टरनेशनल कन्फ्लिक्ट रिजोलुसन, लजिस्टिक सपोर्ट टु युएन पिस किपिङ अपरेसन्स्, ग्लोबल टेरोरिजम, इन्टरनेशनल ह्युमेनेटेरियन ल एण्ड ल अफ आम्र्ड कन्फ्लिक्ट, सेक्युरीटि मेजर्स फर युएन पिसकिपर्स, हस्तक्षेप र व्यवस्थापनका सिद्धान्तहरू, इन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्स, कोर्स अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, व्यवस्थापन र विकास तालिम, मास्टर ट्रेनिङ अफ ट्रेनर्स, स्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट लगायत विभिन्न १५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गरेका छन् ।

प्रहरी महानिरीक्षक केसी प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक लगायतका विभूषणबाट विभूषित छन् । उनले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित गरिएको थियो ।
अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक केसीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा दंगा नियन्त्रण प्रहरी गण मुख्यालय बर्दिबास महोत्तरी, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, जिल्ला प्रहरी कार्यालय जाजरकोट, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला प्रहरी कार्यालय काठमाडौं, अञ्चल प्रहरी कार्यालय राप्ती, जिल्ला प्रहरी कार्यालय धादिङ, महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गरिसकेका छन् ।
प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय रूपन्देही, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरी प्रधान कार्यालय नक्साल लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमा आफ्नो जिम्मेवारी निर्वाह गरेका थिए ।
प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कमाण्ड गरेका डा. केसी २०८२ वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए । प्रहरी अतिरिक्त महानिरीक्षकमा उनले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको कमाण्ड समेत गरेका थिए ।