काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले प्रहरी संगठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारीहरू एक ढिक्का भई नागरिकको अपेक्षा अनुरूप अघि बढ्नुपर्ने बताएका छन् ।
विषम् परिस्थितिमा समेत नेपाल सरकार र आम नेपाली नागरिकको अपेक्षा अनुरूप संगठनका काम कारबाहीहरू अगाडि बढ्नुपर्ने उनको भनाइ छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त धारणा व्यक्त गरेका हुन् ।
प्रहरी महानिरीक्षक केसीले बदलिँदो सामाजिक परिवेश र विकसित हुँदै गएका सुरक्षा चुनौतीसँगै नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिकप्रति उत्तरदायी सङ्गठनका रूपमा अघि बढाउनु प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै सङ्गठनको गौरवशाली इतिहास, संस्थागत मूल्यमान्यता, प्रहरी कर्मचारीहरूको त्याग र वलिदान तथा आम नागरिकको नेपाल प्रहरीप्रतिको अपेक्षा, भरोसा र विश्वासलाई अझ अभिवृद्धि गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीलाई गाम्भीर्यताका साथ ग्रहण गरेको बताएका छन् ।
सङ्गठनको मूल्य, मान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोच, दृष्टिकोण, उच्च नैतिक चरित्र र व्यावसायिकता प्रदर्शन गर्दै मित्रता र सहकार्यका साथ सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो क्षेत्रबाट हर प्रकारले अटुट साथ प्राप्त हुने विश्वास समेत उनले व्यक्त गरे ।
महानिरीक्षक केसीले देशमा आएका राजनीतिक तथा सामाजिक परिवर्तन, प्राकृतिक विपद्, सङ्कट तथा बललिँदो सुरक्षा चुनौतीका अनेकौँ कठिन घडीमा नेपाल प्रहरीले आफूलाई राष्ट्र र नागरिकको सेवामा अग्रपंक्तिमा उभ्याउँदै जनधनको रक्षा गर्दै आएको चर्चा गरे । सांगठनिक सुदृढीकरणको लागि विभिन्न समयमा लागू गरिएका नीति, योजना, कार्यविधि तथा असल अभ्यासहरूलाई निरन्तरता दिँदै अझ प्रतिवद्धताका साथ आगामी दिनहरूमा देश र नागरिक प्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी प्रभावकारी र जबाफदेही ढङ्गबाट उच्च मनोवलका साथ निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।
प्रहरी सङ्गठनका लागि सिर्जित तमाम चुनौतीहरूको सम्बोधन प्रहरी महानिरीक्षकको एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने भएकाले प्रहरी अतिरिक्त महानिरीक्षकदेखि प्रहरीका आधारभूत तहसम्मको सक्रियता, अग्रसरता र सृजनशीलताको आवश्यकता रहने उनले बताए ।
प्रहरी महानिरीक्षक केसीले मुलुकको वर्तमान संवेदनशील सुरक्षा अवस्था, सञ्चार एवम् सामाजिक सञ्जालको वर्तमान प्रवृत्ति तथा प्राविधिक जोखिमहरूलाई मध्यनजर गर्दै, प्रहरी कार्यसम्पादन, आन्तरिक रणनीति र संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताए ।
विधिको शासनको पालना गराउने क्रममा सङ्गठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीहरूबाट प्रर्दशन हुने अपेक्षा लिएको उनले व्यक्त गरे ।
राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै उनले सांगठनिक र व्यक्तिगत रूपमा आम नागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउँदै आपराधिक प्रवृत्तिसँग कठोर रूपमा तर आम नागरिकहरूसँग अपेक्षा अनुरूपको व्यवहार गरी सेवा प्रवाह गर्नु सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।
प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि नेपाल प्रहरीमा उपलब्ध साधनश्रोतको उच्चतम उपयोग गर्दै प्रहरी कल्याणकारी कार्यहरू र प्रहरी कर्मचारीहरूको कार्य वातावरणमा सुधारका प्रयासहरू निरन्तर गरिने समेत उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक केसीले प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण, पारदर्शी, अनुमानयोग्य र क्षमतामा आधारित वृत्ति विकास प्रणालीको प्रवर्द्धन लगायतका विषयमा आवश्यक नीतिगत व्यवस्थाको लागि तालुक मन्त्रालय र नेपाल सरकारसँग सार्थक पहल गरिने बताए ।
साथै, विश्वव्यापी अपराध चुनौती तथा जोखिमहरूको न्यूनीकरण गर्न समयानुकूल प्रविधिको विकास, क्षमता अभिवृद्धि, सुदृढ नीतिगत तथा कानुनी व्यवस्था, स्रोत साधनको व्यवस्थाको सन्दर्भमा तालुक गृह मन्त्रालय तथा नेपाल सरकारबाट सदैव सहयोग र निरन्तर मार्गदर्शन हुने अपेक्षा र विश्वास लिएको समेत उनले बताएका छन् ।