काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले नजिकिँदै गरेको चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारीहरू थप क्रियाशील हुन निर्देशन दिएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
प्रहरी महानिरीक्षक केसीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । विशेष गरी चाडपर्वहरूको समयमा पटका लगायतका विष्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा उनले जोड दिए ।
प्रहरी महानिरीक्षक केसीले आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताए । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आ–आफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।