काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन देशबासीलाई अपिल गरेका छन् ।
संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पेजमार्फत सतर्क रहन अपिल गरेका हुन् । महासभामा भाग लिनका लागि हिजो मंगलबार कतार एयरलाइन्सको जहाजमार्फत त्यसतर्फ प्रस्थान गरेका उनी आज न्यूयोर्क पुगेका हुन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले यही असोज ९ देखि ११ गतेसम्म अतिभारी वर्षाको पूर्वानुमान गरेको छ । जस अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।
वर्षाका कारण बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा सडक र हवाई यातायातमा अवरोध हुनसक्ने भएकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । पानी परिरहेको र रातिको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा नदी, खोला र पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सतर्कता अपनाउन अपिल गरिएको छ ।
त्यस्तै, ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजनामा रहेकालाई मौसम सुधार नभएसम्म यात्रा स्थगित वा पुनर्विचार गर्न आग्रह गर्दै मौसम विज्ञान विभाग र स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित हेर्न तथा आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रधानमन्त्री शाहले अनुरोध गरेका छन् ।
हेर्नुहोस् उनले फेसबुकमार्फत गरेको अपिल–