काठमाडौं । गृहमन्त्री सुधन गुरुङले लोकतान्त्रिक मूल्य–मान्यता, विधिको शासन र कानूनी राज्यको मर्मलाई पूर्ण रूपमा आत्मसात गर्दै राष्ट्र र नागरिकप्रति इमान्दार, उत्तरदायी र प्रतिबद्ध भएर काम गर्नु आजको आवश्यकता भएको बताएका छन् ।
राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थमा आज सोमबार आयोजित सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिम (सि.सं. १७) को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले सरकारका नीति तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमार्फत देश विकासमा सशस्त्र प्रहरी बल नेपालको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।
गृहमन्त्री गुरुङले कठोर अनुशासन र समर्पणका साथ तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थी अधिकृतहरूलाई बधाई दिँदै उत्कृष्ट प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे ।
-1776097611.JPG)
उनले सशस्त्र प्रहरी बल नेपालले स्थापना कालदेखि नै प्रदर्शन गरेको क्षमता, दक्षता र व्यावसायिकताले संगठनलाई सक्षम र विश्वासिलो सुरक्षा निकायको रूपमा स्थापित गरेको उल्लेख गरे । सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् व्यवस्थापन तथा महत्वपूर्ण व्यक्ति र संरचनाको सुरक्षामा संगठनले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।
गृहमन्त्री गुरुङले संगठनले अंगीकार गरेको ‘बोर्डर सेक्युरेटी, इन्टरनल सेक्युरेटी, रेभिन्यू सपोर्ट एण्ड डिजास्टर म्यानेजमेन्ट’ अवधारणा अनुसार कार्यक्षेत्रमा प्रभावकारी योगदान पुर्याउँदै आएको उल्लेख गर्दै तालिमहरूको स्तरोन्नति र गुणस्तर अभिवृद्धिका लागि गृहमन्त्रालयबाट निरन्तर सहयोग रहने बताए ।
वर्तमान अवस्थामा जघन्य अपराध, सीमापार अपराध, विपद् जोखिम तथा बन्द–हड्तालजस्ता गतिविधिहरूले आन्तरिक सुरक्षामा चुनौती थपिरहेको उल्लेख गर्दै उनले यस्ता गतिविधिहरूको समयमै निगरानी र नियन्त्रणका लागि पेशागत दक्षता र संयमताका साथ परिचालन हुन निर्देशन दिएका छन् ।
-(1)-1776097610.JPG)
उनले सशस्त्र प्रहरी बल नेपाल देशका ७७ वटै जिल्लामा उपस्थित भई शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै आवश्यक जनशक्ति, पूर्वाधार र सुरक्षा सामग्री व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको बताए ।
विपद् व्यवस्थापन क्षेत्रमा संगठनले पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उनले समुदायमा आधारित विपद् प्रतिकार्य तालिमको प्रभावकारिता आफूले प्रत्यक्ष अनुभव गरेको पनि स्मरण गरे ।
दीक्षान्त समारोहमा गृहमन्त्री गुरुङले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका अधिकृतहरूलाई साहस, अनुशासन, इमान्दारिता र कर्तव्यनिष्ठालाई जीवनको मार्गदर्शक सिद्धान्तका रूपमा अपनाई राष्ट्र सेवामा समर्पित हुन प्रेरणा दिए ।
सो अवसरमा उत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी निरीक्षक समिर बहादुर रावललाई खुकुरी प्रदान गरिएको थियो । साथै कवाजतर्फ जनक बडायर जोशी, शारीरिक सहिष्णुतातर्फ पुष्कर जोशी र चादमारीतर्फ प्रदीप कुँवरलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाले प्रशिक्षार्थी अधिकृतहरूलाई सपथ गराएका थिए । करिब ५६ हप्ते तालिम ३ जना महिलासहित कुल ४९ जना सशस्त्र प्रहरी निरीक्षकहरूले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
समारोहमा नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च पदस्थ अधिकारीहरू तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।