विराटनगर । ‘सुरक्षित यात्रा, हाम्रो प्रतिवद्धता’ भन्ने मुल नाराका साथ कोशी प्रदेशमा सुरक्षित यात्रा अभियान एवम् चालक सम्मान कार्यक्रम शुभारम्भ गरिएको छ ।
कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको सहकार्य तथा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको आयोजनामा आज विराटनगर पसपार्कमा आयोजित विशेष कार्यक्रममार्फत सो अभियान सुरू गरिएको हो । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालबाट सो अभियान शुभारम्भ गरिएको हो ।
कार्यक्रमलाई सम्बोधनको क्रममा डीआईजी खनालले सडक दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सरोकारवाला निकाय, चालक, सहचालक तथा यातायात व्यवसायीलगायत सबैको साझा प्रयासले मात्र सम्भव हुने बताए ।
उनले मादक पदार्थ वा लागू पदार्थ सेवन गरी सवारी चलाउनु, तीव्र गति, क्षमताभन्दा बढी यात्रु र भार बोक्नु, लाइसेन्स तथा सीप बिना सवारी चलाउनु, जथाभावी ओभरटेक र पिक एन्ड ड्रप गर्नु, लेन अनुशासन उल्लंघन गर्नु, यात्रु तथा पैदलयात्रीले जथाभावी बाटो काट्नु, सवारीको यान्त्रिक अवस्था, प्रतिकूल मौसम र भौगोलिक जोखिम जस्ता कारणले सवारी दुर्घटनामा वृद्धि भएको हुँदा नियमितरूपमा सवारी साधनको चेकजाँच, मौसम, भौगोलिक जोखिम र सडकको अवस्थालाई ध्यान दिई सडक नियमको पूर्णरूपमा पालना गरी सुरक्षित यात्रा गर्न यातायात व्यवसायी, चालक तथा सहचालक, यात्रु एवम् पैदलयात्रुहरूमा अनुरोध गरे ।
‘सुरक्षित यात्रा अभियान शुभारम्भ एवम् चालक सम्मान कार्यक्रममा प्रमुख अतिथि खनालले २०८३ साल कात्तिक १६ गते आफ्नो सिटी सफारीमा छुटेको नगद ५ लाख रूपैयाँको झोला कुनै प्रलोभनमा नपरी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा बुझाउने सुरक्षित चालक नम्बर ३६६ का सिटी सफारी चालक जित बहादुर राईलाई सम्मान गरेका थिए ।
सवारी आवागमनलाई सुरक्षित, व्यवस्थित, मर्यादित र पहुँचयोग्य बनाइ सवारी दुर्घटना न्युनीकरण गरी जन धनको क्षति न्यूनीकरण गर्नको निम्ति सुरक्षित यात्रा, हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ ‘सुरक्षित यात्रा अभियान’ सचेतनामुलक कार्यक्रम कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा सञ्चालन भइरहेको जानकारी दिइएको छ ।
कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरी, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवाल, यातायात ब्यवसायी, सञ्चारकर्मी, सवारी चालक तथा सहचालक लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
सुरक्षित यात्रा अभियान कार्यक्रमलाई थप प्रभावकारी बनाई बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सामाजिक संजालको माध्यमद्वारा आम नागरिकहरूमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनचेतनामुलक त्ष्पत्यप प्रतियोगिताको आयोजना समेत गरेको छ ।
आम नागरिक, यातायात व्यवसायी, चालक तथा सहचालक, यात्रु एवं पैदलयात्रुहरूमा सडक सुरक्षा अभिवृद्धि गरी सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने किसिमका जनचेतनामुलक सामाग्री सहितको टिकटक भिडिओ निर्माण गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पठाई प्रतियोगितामा सहभागी हुन सुचित गरिएको छ ।