काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा सहभागी हुने नेपाल एपीएफ क्लवका खेलाडीहरुलाई उच्च अनुशासन र फेयर प्लेको मूल मन्त्र पूर्ण रुपमा पालना गरी सहभागी हुनुपर्ने बताएका छन् ।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा सहभागी हुने नेपाल एपीएपफ क्लवका खेलाडी, अफिसियल तथा प्रशिक्षकहरूलाई खेल सफलताको अग्रिम शुभकामना दिँदै सो कुरा बताएका हुन् ।
महानिरीक्षक पौडेलले उच्च मनोवलकासाथ खेलाडीहरुले खेल मैदानमा आफ्नो प्रतिभा देखाउनुपर्ने बताउँदै खेल मैदान, रिङ वा कोर्टभित्र रेफ्री तथा अम्पायरका निर्णयहरूलाई पूर्ण रूपमा पालना गर्दै कुनै पनि अमर्यादित वा अनुशासनहीन गतिविधि नगर्न समेत निर्देशन दिएका छन् ।
-1795195660.JPG)
उनले प्रत्येक खेलाडीले समग्र सङ्गठन र राष्ट्रको सम्मान, इज्जत तथा गरिमाको प्रतिनिधित्व गर्ने भएकाले खेल अवधिभर उच्च आत्मबल र स्व–प्रेरणा कायम राख्नुपर्नेमा जोड दिँदै खेलकुद क्षेत्रले पनि सशस्त्र प्रहरी बलको पृथक र विशिष्ट पहिचान स्थापित गर्ने विश्वास व्यक्त गरे ।
कुल २९ वटा खेल विधामा नेपाल एपीएफ क्लवका कुल ५८६ जना खेलाडीहरु सहभागी हुनेछन् । यसअघि पाँचौँ, छैटौँ, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले दोस्रो तथा तेस्रो स्थान हासिल गर्दै आफ्नो दरिलो उपस्थिति जनाउँदै आइरहेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो ।