काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले केन्द्रीय गुनासो व्यवस्थापन डेस्क उद्घाटन गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच उनले सो डेस्क उद्घाटन गरेका हुन् । एक जना प्रहरी कर्मचारीको टेलिफोनमार्फत गुनासो सुन्दै उनले सो डेस्कको औपचारिक शुभारम्भ गरेका हुन् ।
त्यस अवसरमा नेपाल प्रहरीको ‘सीयूजी’ सेवामा आबद्ध आधारभूत तहका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना प्रहरी कर्मचारीहरूको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि ‘गूगल फर्म लिंक’ पठाइएको थियो ।
प्रहरी सङ्गठनको जगको रूपमा रहेका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्म आधारभूत तहका कर्मचारीहरूको पेशागत जीवनलाई अझ सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउन तथा कार्यक्षेत्रमा भोग्नुपरेका समस्या, कठिनाई, विभेद र गुनासाहरूलाई उचित सम्बोधन गर्ने उद्देश्यले उक्त डेस्क स्थापना गरी सञ्चालनमा ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।
-1795194983.jpeg)
नेपाल प्रहरी सङगठनको ८२% भन्दा बढी जनशक्तिहरू आधारभूत तहका कर्मचारीहरू रहेको कुरालाई मनन् गर्दै प्रहरी नियमावली २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी उक्त डेस्क स्थापना गरिएको हो ।
आधारभूत तहका प्रहरी कर्मचारीहरूको गुनासो, पीरमर्काहरू विभिन्न तहहरू पार गरेर नेतृत्व तहसम्म आइपुग्न कठिन भएको कुरालाई मनन गर्दै ती गुनासो तथा पीरमर्काहरू अझ द्रुत र छिटो गतिमा सम्बोधन गर्ने गरी डेस्क स्थापना गरिएको महानिरीक्षक केसीको भनाइ थियो ।
आधारभूत तह प्रहरी सङ्गठनको आधारभूत स्तम्भ हुनुका साथै सडकदेखि सीमासम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म जनताले देख्ने र महसुस गर्ने असली अनुहार भएको चर्चा गर्दै आधारभूत तह सन्तुष्ट नभएसम्म जनताले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिनाई हुने उनले बताए ।