काठमाडौं । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक विशेषता बोकेको विविधतामा एकता झल्काउने नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडा दसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्व’ लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरेको छ ।
चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवम् प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन उक्त सुरक्षा योजना लागू गरिएको हो ।
चाडपर्वमा नागरिकको स्वतन्त्रता, धार्मिक तथा साँस्कृतिक आस्था, जनधनको सुरक्षा, महिला, बालबालिका, अपाङ्ग एवम् जेष्ठ नागरिकको सुरक्षा र अधिकारको सम्मान गर्न नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले जानकारी दिए ।
उनका अनुसार चाडपर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी सुरक्षा योजना अवलम्बन गरिएको छ । सो अवधिमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूमा हुन सक्ने दंगा लुटपाट वा अन्य अप्रिय घटनाहरू, एक स्थानमा घटेको घटनाले अर्को स्थानमा समेत प्रभाव पारी शान्ति सुरक्षामा खलल पुग्न सक्ने जस्ता सुरक्षा चुनौतीहरू प्रति विशेष रूपमा सचेत भई नेपाल प्रहरीले सुरक्षा योजना अवलम्बन गरेको छ ।
चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभवाकारी रूपमा प्रहरी परिचालित हुनेछन् । अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरूबाट अवैध हातहतियार, पटका, बिस्फोटक पदार्थ, लागूऔषध लगायतको ओसारपसार तथा तस्करी नियन्त्रणमा समेत विशेष सुरक्षा व्यवस्था अपनाइएको प्रवक्ता काफ्लेको भनाइ छ ।
चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट ५० हजार ४ सय ५८ जनशक्ति परिचालन हुनेछन् । जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी अन्तर्गत ७६६८, कोशी प्रदेश अन्तर्गत ८१३३, मधेश प्रदेश अन्तर्गत ७२३०, बागमती प्रदेश अन्तर्गत ४४९९, गण्डकी प्रदेश अन्तर्गत ५१८८, लुम्बिनी प्रदेश अन्तर्गत ७९२१, कर्णाली प्रदेश अन्तर्गत ५३१४ र सुदूरपश्चिम प्रदेश अन्तर्गत ४५०५ जना जनशक्ति परिचालन हुनेछन् ।
साथै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउन नागरिक–प्रहरी सहकार्यलाई विशेष प्राथमिकतामा राखेर स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायसँग निरन्तर सहकार्य तथा समन्वय गरिने छ ।
‘चाडपर्वको समयमा भरपर्दो सुरक्षा व्यवस्थाको लागि परम्परागत शैली भन्दा पनि प्रविधिमा आधारित सुरक्षा निगरानीलाई विशेष प्राथमिकतामा राखिएको छ । लामो दूरीका सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ्ने भएकाले यात्रु तथा राजमार्ग सुरक्षालाई विशेष मध्यनजर गरी नेपाल प्रहरीबाट यात्रुको सुरक्षा तथा सडक सुरक्षा व्यवस्थापन गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको छ,’ प्रहरी प्रवक्ता डीआईजी काफ्लेले भने । काठमाडौं उपत्यका लगायतका देशभरका प्रमुख शहरहरूमा चाडपर्वको समयमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सुरक्षा योजना अनुरूप प्रभावकारी रूपमा प्रहरी परिचालित हुनेछन् । नेपाली समुदायहरूको महान् चाडपर्वको अवधिमा चुस्त एवम् दुरूस्त रूपमा परिचालित हुन नेपाल प्रहरी सदैव कटिवद्ध रहेको उनको भनाइ छ ।
उनका अनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनहरूको सम्बन्धमा बाहिरिनु भन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे नराखेको चेकजाँच, ट्राफिक कम्युनिकेशन एप्लिकेशन (टीसीए) को प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल टेष्ट गरेको प्रमाणपत्र समेत चेकजाँच गरिनेछ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरूबाट १ हजार १६५ जनशक्ति परिचालन गरी देशभरका विभिन्न स्थानमा ४ सय ८ वटा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । साथै अन्तर्राष्ट्रिय सीमा नाकाका १०८ स्थानमा हेल्प डेस्क स्थापनामा गरी थप ७०५ जनशक्ति परिचालन भएका छ्न् । यात्रु सहायता कक्षबाट यात्रुलाई आवश्यक सूचना तथा सहायता प्रदान गर्ने, हराएका/भेटिएका व्यक्ति तथा सामानसम्बन्धी समन्वय गर्ने, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई विशेष सहायता गर्ने, यात्रुहरूको गुनासो तत्काल सम्बन्धित प्रहरी कार्यालयमा पठाउने र शंकास्पद गतिविधिको सूचना सङ्कलन गरी आवश्यक रूपमा प्रहरी परिचालन गरिनेछ ।
चाडपर्वको समयमा सुरक्षाको लागि उपलब्ध आधुनिक प्रविधिहरू जस्तै सीसीटीभी क्यामेरा, बडी वर्न क्यामेरा, ड्रोनको प्रयोग, तालिम प्राप्त कुकुरहरू परिचालन तथा प्रहरी सञ्चार प्रणालीमार्फत ‘रियल टाइम’ सूचना आदानप्रदान गरिनुका साथै सामाजिक सञ्जालहरूको निगरानी गरी सामाजिक सञ्जालमा प्रवाह हुने डिजिटल सूचनाको विश्लेषण गरी सुरक्षा व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन आवश्यक रूपमा प्रहरी परिचालन गरिने छ ।
चाडपर्वको अवसरमा विभिन्न आकर्षक उपहार दिने भन्दै हुनसक्ने नक्कली अनलाइन सपिङ, अनलाइन ठगी, बैंकिङ ठगी, ओटीपी, पिन तथा ‘पासवर्ड’ मागेर हुन सक्ने फिसिङ लगायतको डिजिटल आपराधिक गतिविधि नियन्त्रण गर्न आमनागरिकहरूलाई त्यस्ता गोप्य विवरण कसैलाई पनि नदिन, शंकास्पद लिंक, क्यूआर कोड, लट्री वा अनलाइन फेस्टीभल अफरमा विश्वास नगर्न, एआईबाट बनाइएको आवाज/भिडिओ वा आफन्त/अधिकारीको नाममा आएको असामान्य रकम माग्ने सन्देशलाई तुरून्त विश्वास नगर्न र सचेत रहन विशेष सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
काठमाडौं उपत्यका लगायतका प्रमुख शहरमा सुरक्षा व्यवस्था मजबुद बनाउन मुख्य बजार तथा सपिङ मल, बचत, बैंक तथा वित्तीय संस्था, बसपार्क तथा सार्वजनिक यातायात केन्द्र, विमानस्थल, धार्मिक स्थल, पर्यटकीय स्थल, मनोरञ्जन स्थल, मुख्य सडक तथा चोक, शहरका प्रवेश/निकास नाका, सुनचाँदी तथा बहुमूल्य वस्तुको कारोबार हुने क्षेत्रहरूलाई विशेष प्राथमिकतामा राखी प्रहरी परिचालन गरिनेछ ।
चाडपर्वको जोखिम र स्थानीय सुरक्षा संवेदनशीलताको आधारमा कमाण्ड पोष्ट, क्यूआरटी परिचालन हुनेछन् । सीमानाकामा हुने अवैध गतिविधि, तस्करी र अवाञ्छित क्रियाकलाप रोक्न पैदल तथा मोबाईल गस्ती, ग्रामीण गस्ती, लोक मार्गमा क्रस पट्रोलिङलाई अझै प्रभावकारी बनाउँदै लगिनेछ ।
साथै लामो समय घर छोडेर जाँदा झ्यालढोका, ग्यास तथा विद्युत् राम्रोसँग जाँच गर्न, घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्न, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, भीडभाडमा नगद, गरगहना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउन आम नागरिकलाई विशेष अनुरोध गरिएको छ ।
मादक तथा लागूपदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण पालना गर्न, बालबालिका तथा ज्येष्ठ नागरिकलाई भीडभाडमा एक्लै नछोड्न, जुवातास, अवैध सट्टेबाजी तथा लागूऔषधबाट टाढा रहनका साथै कुनै शंकास्पद वा आपराधिक गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न समेत नेपाल प्रहरीले विशेष अनुरोध गरेको छ ।
चाडपर्वलाई सुरक्षित बनाउन नेपाल प्रहरीको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिक, स्थानीय समुदाय, व्यवसायी, यातायात व्यवसायी, बैंक तथा वित्तीय संस्था र सरोकारवाला निकायहरूको समेत साझा जिम्मेवारी हो । नागरिकबाट समयमै प्राप्त हुने सूचना अपराध रोकथाम तथा अनुसन्धानका लागि महत्वपूर्ण भएकाले शंकास्पद गतिविधि भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको आधिकारिक सम्पर्क माध्यममा जानकारी गराउन समेत अनुरोध गरिएको छ ।
नेपाल प्रहरीले चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा शान्तिपूर्ण वातावरण कायम गर्न ‘सूचना–प्रविधि–प्रहरी परिचालन–नागरिक सहकार्य’ लाई मुख्य आधार बनाउँदै सुरक्षा व्यवस्था मिलाएको छ ।