काठमाडौं । इन्टरपोलको ९४औं महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (आईजीपी) सिद्धी विक्रम शाह नेतृत्वको टोली शनिबार चीन प्रस्थान गरेको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा चीनको हङकङमा मंसिर १४ गते देखि १७ गतेसम्म सञ्चालन हुने उक्त महासभामा सहभागी हुन एआईजीपी शाहसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
महासभामा सहभागी हुन नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, अन्वेषण योजना तथा निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्ट र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक मित्र वन्धु शर्मा समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त महासभामा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको रोकथाम तथा न्यूनीकरणको लागि इन्टरपोलको विभिन्न नीति निर्माणका प्रकृयाहरूको सम्बन्धमा सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ । साथै इन्टरपोलको ‘कम्मीसन फर दि कन्ट्रोल अफ इन्टरपोल्स फाइल’ को विभिन्न रिक्त पदहरूका लागि निर्वाचन समेत हुनेछ ।
एआईजीपी शाहको नेतृत्त्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, जापान, बेलायत, अष्ट्रेलिया, मलेसिया, यूएई र ओमनका प्रतिनिधिहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।