काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले नागरिकमैत्री, नागरिकप्रति उत्तरदायी, पारदर्शी एवम् प्रभावकारी र छिटोछरितो सेवा प्रवाह गरी जनताको भरोसा अभिवृद्धि गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
हालै सरूवा भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक (एसपी) हरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उपलब्धिपूर्ण एवम् उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक केसीले उक्त निर्देशन दिएका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक केसीले आ–आफ्नो क्षेत्रको सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा विश्लेषण गरी आवश्यकता अनुरूप सुरक्षा योजना एवम् रणनीति अवलम्बन गर्दै योजनाबद्ध तवरले प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताएका छन् । साइबर अपराध, सीमा अपराध, तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई प्राथमिकतामा राखि थप व्यावसायिक, अनुशासित, निष्ठावान एवम् इमानदार भई कार्यसम्पादन गर्नुपर्ने उनको भनाइ छ ।
महिला बालबालिका, ज्येष्ठ नागरिक तथा अल्पसंख्यकप्रति थप संवेदनशील भई पीडितहरूको गुनासोको उचित सम्बोधन गरी प्रहरी कार्यालयबाट प्रवाह हुने सेवाहरूलाई थप सहज र सरल बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए । प्रहरी महानिरीक्षक केसीले आधारभूत तहका प्रहरी कर्मचारीहरूको गुनासोलाई विशेष प्राथमिकतामा राखि उचित सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै सामुहिक भावना एवम् नवीनतम सोचका साथ प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा सम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए ।
साथै कार्यालय व्यवस्थापनलाई अझ उत्कृष्ट बनाउँदै लैजानुपर्ने उल्लेख गर्दै उनले भिड नियन्त्रणमा बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी थप संवेदनशील भई कार्य गर्नुपर्ने बताएका छन् । आ–आफ्नो क्षेत्रको शान्ति सुव्यवस्था प्रभावकारी बनाउन तथा अपराध नियन्त्रण गर्न स्थानीय तह एवम् अन्य सरोकारवाला निकायहरू सँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिएका छन् ।
कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।