काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकालाई अनलाइन दुर्व्यवहार गर्ने, अश्लील तथा अपमानजनक सामग्री पठाउने, धम्की दिने र चरित्रहत्या गर्ने कार्यमा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सामाजिक सञ्जालमा नक्कली खाता बनाएर नाबालिकाका आफन्त तथा साथीहरूलाई अश्लील तस्बिर तथा भिडियो पठाउनेदेखि पूर्वप्रेम सम्बन्ध टुटेपछि व्यक्तिगत तस्बिर तथा भिडिओ सार्वजनिक गर्ने, अश्लील गालीगलौज गर्ने र ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न व्यक्ति छन् ।
प्रहरीले मङ्सिर ९ गते छ जना र मङ्सिर १० गते तीन जनालाई पक्राउ गरेको हो । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालित ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा, भारतको बिहार स्थायी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने ३२ वर्षीय महमद फेसल एजाज, इलाम देउमाई नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ बस्ने ३७ वर्षीय विमल दर्जी खत्री छन् ।
त्यस्तै, म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनका ५६ वर्षीय दिलबहादुर मगर, उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ३२ वर्षीय चिरञ्जीवी सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
त्यसैगरी, पीडितको सामाजिक सञ्जाल खाता ह्याक गरी अश्लील तस्बिर तथा भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै रकम माग गरेको आरोपमा १५ र १६ वर्षका दुई बालकलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ ।