काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयले अनुसन्धानका गोप्य सूचना चुहाउने प्रहरी कर्मचारीमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।
फौजदारी अपराधको अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक भइरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै आज आइतबार प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी यस्तो चेतावनी दिएको हो ।
फौजदारी अपराधको अनुसन्धानका क्रममा सङ्कलन गरिएका त्यस्ता गोप्य सूचना तथा विवरण अनधिकृत रूपमा सार्वजनिक नगर्न प्रहरी कर्मचारीहरूलाई विज्ञप्तिमार्फत निर्देशन दिइएको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना चुहावट भइरहेको विषय सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता गतिविधिले अनुसन्धानको दायरामा रहेका शंकित व्यक्तिको वैयक्तिक गोपनीयतामा असर पार्नुका साथै अनुसन्धान प्रक्रियाको निष्पक्षता र संवेदनशीलतामा समेत प्रभाव पार्ने प्रहरीको भनाइ छ । यसबाट नेपाल प्रहरीको सांगठनिक गरिमामा समेत आँच पुगेको प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा सङ्कलन गरिएका गोप्य सूचना, लिखित प्रमाण तथा विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबिना अनधिकृत व्यक्ति वा सञ्चारमाध्यमलाई उपलब्ध गराउने, सार्वजनिक गर्ने वा चुहावट गर्ने कार्यलाई प्रचलित कानुन र प्रहरी आचरणविपरीतको गम्भीर कसुर मानेको छ ।
प्रहरी नियमावली, २०७१ को नियम ७९, १०९ र ११३ तथा मुलुकी अपराध संहिता, २०७४ को दफा ९२ का उपदफा (३), (४) र (५) मा गोप्य सूचना तथा अभिलेखको अनधिकृत खुलासा र त्यस्ता कार्यमा दुरुत्साहन गर्नेलाई कारबाही गर्ने व्यवस्था रहेको प्रधान कार्यालयले स्मरण गराएको छ ।
बहालवाला तथा सेवाबाट अलग भइसकेका सम्पूर्ण प्रहरी कर्मचारीलाई अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, विवरण, लिखत तथा विद्युतीय अभिलेख अनधिकृत रूपमा कसैलाई उपलब्ध नगराउन र सार्वजनिक नगर्न निर्देशन दिइएको छ ।
त्यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न नहुन तथा अरूलाई पनि संलग्न नगराउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ ।
बहालवाला वा पूर्वप्रहरी कर्मचारीमध्ये कसैले गोप्य सूचना चुहावट गर्ने, त्यसलाई प्रोत्साहन गर्ने, सहयोग गर्ने वा सहजीकरण गरेको पाइएमा छानबिन गरी संलग्न व्यक्तिमाथि विभागीय तथा कानुनी कारबाही गरिने चेतावनीसमेत प्रहरीले दिएको छ ।
हेर्नुहोस् विज्ञप्ति–
