विराटनगर । सडक दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरीले जनचेतनामूलक टिकटक भिडिओ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगरको सहकार्यमा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले सञ्चालन गरिरहेको ‘सुरक्षित यात्रा अभियान’ अन्तर्गत ‘सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
सामाजिक सञ्जालमार्फत आम नागरिकमा सडक सुरक्षासम्बन्धी चेतना अभिवृद्धि गर्ने र बढ्दो सवारी दुर्घटना न्यूनीकरणमा योगदान पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रहरीले जनाएको छ ।
प्रतियोगितामा सडक सुरक्षा अभिवृद्धि गर्ने सन्देशमूलक तथा जनचेतनामूलक भिडिओ निर्माण गरी सहभागी हुन सकिनेछ । भिडिओमा सडक यातायात व्यवसायी, चालक तथा सहचालक, यात्रु एवं पैदलयात्रीले पालना गर्नुपर्ने जिम्मेवारी र सडक सुरक्षासम्बन्धी विषय समेट्नुपर्नेछ ।
प्रतियोगितामा सहभागी हुन नेपाली नागरिक हुनुपर्नेछ । निर्माण गरिएको भिडिओ पोट्र्रेट फर्म्याट (९:१६) मा हुनुपर्ने र अधिकतम दुई मिनेटसम्मको हुनुपर्नेछ । भिडिओ सरल नेपाली भाषामा निर्माण गर्नुपर्नेछ भने आवश्यकताअनुसार अंग्रेजी भाषामा सबटाइटल राख्न सकिनेछ ।
प्रतियोगिताका उत्कृष्ट तीन भिडिओ छनोट गरी क्रमश: ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतियोगिताका लागि व्यक्तिगत विवरण वा तस्बिर प्रयोग गर्दा सम्बन्धित व्यक्तिको अनुमति लिनुपर्नेछ । प्रतिलिपि अधिकार उल्लंघन हुने सामग्री, गैरकानुनी गतिविधि समावेश भएका भिडिओ तथा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी निर्माण गरिएका सामग्री प्रतियोगितामा समावेश गरिने छैनन् ।
प्रतियोगीले निर्माण गरेको भिडिओ आफ्नै आधिकारिक टिकटक खाताबाट पोस्ट गर्नुपर्नेछ । भिडिओ पोस्ट गर्दा कोशी प्रदेश प्रहरीको आधिकारिक फेसबुक पेज र टिकटक एकाउन्टलाई मेन्सन गर्नुपर्ने छ ।
भिडिओ पोस्ट गरेपछि प्रतियोगीको नाम, सम्पर्क नम्बर, नागरिकता वा परिचय खुल्ने कागजातको छायाँकपी र टिकटक भिडिओको लिंकसहित कार्यालयको ई–मेल ठेगानामा पठाउनुपर्ने छ । प्रतियोगितामा सहभागी हुन चाहनेले २०८३ साल मंसिर २१ गतेसम्म आफ्नो भिडिओ पठाइसक्नुपर्नेछ ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि प्रहरी वरिष्ठ नायब निरीक्षक कृष्णबहादुर प्रधानलाई सम्पर्क गर्न सकिने कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।