काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले साढे दुई करोड रूपैयाँ मूल्य बराबरको सुनका गरगहनासहित एक जना महिलालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्म डण्डा, रूपन्देहीको टोलीले विशेष सुराकीका आधारमा भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गरगहनासहित ती महिलालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेल छिन् । उनलाई रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा बुधबार राति पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले पक्राउ परेकी पटेलको साथबाट २ किलो ६०५ ग्राम तौल बराबरको सुन जस्तो देखिने विभिन्न किसिमका गरगहना फेला पारेको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बरामद गरिएका गहनाहरूको परीक्षण तथा परिमाण यकिनका लागि असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा परीक्षण गर्दा उक्त धातु १ किलोग्राम शुद्ध सुन रहेको र जसको बजार मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रूपैयाँ कायम भएको छ । नियन्त्रणमा लिइएका पटेललाई बरामद गरिएका सम्पूर्ण गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय रूपन्देहीमा बुझाइएको छ ।
बरामद गरिएका गहनाहरूमा हार ९ पिस, औंठी ८१ पिस, चुरा १३ पिस, माला ४ पिस, हसुली किसिमको सिक्री ८ पिस, पत्थर सहितको झुम्का २० पिस, झुम्का २४ पिस, गोली औंठी १४ पिस, लकेट (जन्तर) १ पिस, पोते १७ पिस, सिक्री २४ पिस, बाली र जुली १८८ जोर, पत्थर सहितको टप ६४ जोर, नाकको फूली २२ पिस, पत्थरवाला हार २ पिस, सानो झुम्का १० पिस, कानको बाली ११ जोर र ब्रासलेट ८ पिस रहेका छन् ।