काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर) को जिम्मेवारी हेरफेर गरेको छ ।
कार्यालयले शुक्रबार विभिन्न जिल्ला तथा कार्यालयमा कार्यरत डीएसपी र इन्सपेक्टरलाई काज सरुवा गर्दै नयाँ जिम्मेवारी तोकेको हो । सरुवा सूचीअनुसार डीएसपी मदनजीत महरालाई काठमाडौंको बौद्ध वृत्तमा खटाइएको छ ।
यस्तै, सूर्यबहादुर बोगटीलाई बैदाम, ज्ञानबहादुर खड्कालाई भोजपुर तथा पविन्द्र बमलाई अछामको जिम्मेवारी दिइएको छ । ओम खनाललाई धनुषा सरुवा गरिएको छ ।
यसैगरी बौद्ध वृत्तका डीएसपी सन्तोष रोकालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ । भोजपुरका डीएसपी मीन कुँवर, डीएसपी राजु लामा र बैदामका डीएसपी नमराज भट्टराईलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । डीएसपी जनक पुरीलाई भने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरको पनि जिम्मेवारी हेरफेर गरेको छ । सरुवा सूचीअनुसार सरिता मगरलाई वडा प्रहरी कार्यालय रामबजार, कास्की, यशोदा घलेलाई प्रहरी प्रभाग बाँडेगाउँ, ललितपुर, मधुसुदन विश्वकर्मालाई इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरी, सुरेन्द्रविक्रम बर्तौलालाई इलाका प्रहरी कार्यालय हरिवन, सर्लाही तथा दिपक खरेललाई इलाका प्रहरी कार्यालय गोलबजारमा काज सरुवा गरिएको छ ।