काठमाडौं । काठमाडौंको ठमेल क्षेत्रबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा रहेका होटेल तथा गेस्टहाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान थालिएको थियो ।
प्रहरी टोलीले सूचनाको आधारमा ठमेल क्षेत्रमा रहेका विभिन्न होटेलमा खोजतलास गर्दा शंकास्पद अवस्थामा रहेका १० जना बंगलादेशी नागरिकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा फाहिमा अख्तर हसन, महमुद, महाबुब हसन, रेपोन मेहमुद, एमडी केरामत अलिखान, साहिदुर रहमान, एमडी खलिलुर रहमान, अरिफुर रहमान, एमडी मारुफ मृधा र मोहम्मद हानिफ मिया रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकाहरू बंगलादेशका विभिन्न जिल्लाका बासिन्दा हुन् र हाल काठमाडौं महानगरपालिका–२६ ठमेल क्षेत्रमा बसोबास गर्दै आएका थिए ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।