काठमाडौं । सशस्त्र प्रहरी परिवार महिला संघले भोटेकोशी बाढी प्राभावित सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका आश्रित परिवार र अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई राहत रकम हस्तान्तरण गरेको छ ।
उक्त रकम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा असोज २६ गते संघकी अध्यक्ष सावित्रा कुमारी पौडेलले हस्तान्तरण गरेकी हुन् ।
उक्त बाढीमा बहालवाला सशस्त्र प्रहरी कर्मचारी १३ जना र अवकाशप्राप्त सशस्त्र प्रहरी १ जना गरी १४ जना बेपत्ता भएका थिए भने १ जना अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी घाईते भएका थिए । त्यस्तै दुई जना सशस्त्र प्रहरी कर्मचारीहरुको परिवार बेपत्ता भएका छन् ।
बेपत्ता बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई २५ हजार दरले तथा परिवार बेपत्ता भएका सशस्त्र प्रहरी कर्मचारीलाई १० हजार दरले र घाईते भएका अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई समेत १० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
-1791821336.jpeg)
संघकी अध्यक्ष पौडेलले बेपत्ता भएकाहरुमध्ये सशस्त्र प्रहरी सहायक हवल्दार कृष्ण कुमार कार्की, आशिष पौडेल र जवान साजन कुँवरको परिवार तथा अवकाश प्राप्त सशस्त्र प्रहरी सहायक निरीक्षक बल बहादुर घर्ती मगर र परिवार बेपत्ता भएका २ महिला सशस्त्र प्रहरी कर्मचारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् ।
बेपत्ता भएका बाँकी सशस्त्र प्रहरी कर्मचारीहरुको परिवारजनहरुसँग भेट गरी उक्त रकम प्रदान गरिने बताइएको छ ।
त्यस्तै उनले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा रहेको विपद् कोषमा जम्मा गर्नको लागि ५० हजार ५५५ रुपैयाँ सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अन्जनी कुमार पोखरेललाई हस्तान्तरण गरिन् ।
सशस्त्र प्रहरी परिवार महिला संघलाई आत्मनिर्भर बनाउँदै लैजाने क्रममा संघले विभिन्न किसिमका आयमूलक क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ । उक्त आयमूलक क्रियाकलापहरुद्वारा संकलित रकमबाट नै राहत रकम प्रदान गरिएको हो ।