काठमाडौं । गृहसचिव केदारनाथ शर्माले भदौ १० गते भोटेकोशीमा आएको प्रलयकारी बाढीपछि सशस्त्र प्रहरी कर्मचारीहरू अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरूमा खटिएर काम गरिरहेको बताएका छन् ।
सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्ने क्रममा उनले सो कुरा बताएका हुन् । कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आइरहेका सशस्त्र प्रहरीको जनशक्तिलाई थप संवेदनशील विषय तथा समयसापेक्ष आवश्यक तालिम प्रदान गरी श्रोतसाधन सम्पन्न बनाउनुपर्ने पनि बताएका छन् ।
-(Large)-1789442696.JPG)
विपद्को जोखिम बढ्दै गएको हुँदा त्यसको न्यूनीकरणको लागि आवश्यक जनशक्ति, पूर्वतयारी, प्राप्त स्रोतसाधनको प्राथमिकीकरण तथा व्यवस्थापन र जनचेतनाका लागि प्रचार–प्रसारणमा समेत ध्यान दिनुपर्नेमा जोड दिँदै उनले सीमामा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरूको सीमा क्षेत्रका स्थानीय जनताहरूसँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले सीमावासीसँगको सम्बन्धलाई सुमधुर बनाउँदै सीमा सुरक्षा गर्न र सीमा क्षेत्रमा बढ्दै गएको अपराध तथा अवैध कारोवार नियन्त्रण गर्न आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्दै थप चनाखो भई परिचालन हुन समेत निर्देशन दिएका छन् ।
सुरक्षा निकायबिच आपसी समन्वयमा काम गर्न सकियो भने फिल्डमा कार्य सम्पादन प्रभावकारी हुने गृहसचिव शर्माको भनाइ छ । त्यसका लागि कुनै पनि घटनाको सम्बन्धमा सूचना आदान प्रदानको वातावरणलाई थप सशक्त बनाउन जरुरी रहेको उनले बताए ।
-(Large)-1789442693.JPG)
उनले सशस्त्र प्रहरीसँग सम्बन्धित नियम तथा नियमावलीका कमजोर पक्षहरूलाई सुदृढ बनाउन, थप कानूनमा समेट्न तथा परिमार्जनका प्रस्तावहरू तयारी गरी मन्त्रालयमा पठाउनुपर्ने बताउँदै सशस्त्र प्रहरी बल नेपालको विद्यमान समस्याहरू सहजीकरण र आवश्यक निर्णयहरूमा समेत मन्त्रालय सदैव सकारात्मक रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारी लाइभ भिडियो स्ट्रीमिङमार्फत सशस्त्र प्रहरी बल नेपालका कार्यालय प्रमुखहरू, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरूको उपस्थिति रहेको थियो ।