काठमाडौं । सिरहाको गोलबजार नगरपालिकामा पशु हाटबजार सञ्चालन तथा राजस्व सङ्कलनमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन नगरप्रमुखसहित आठ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा पशु हाटबजारको ठेक्का, राजस्व असुली र छुटसम्बन्धी निर्णयमा अनियमितता भएको पाइएको छ ।
आयोगले तत्कालीन नगरप्रमुख देवनाथ साह तेली, उपप्रमुख रेशमकुमारी थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, दिनेश कुमार सहनी, वीरन्द्रकुमार यादव, श्रीधर केसी, अनन्तकुमार पौड्याल र अन्य सम्बन्धित पदाधिकारीलाई प्रतिवादी बनाएको छ । उनीहरूमाथि ठेक्का तथा राजस्व सङ्कलन प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोप लगाइएको छ ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार प्रतिवादीहरूबाट कुल १ करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो कायम गरी असुलउपर गर्न माग गरिएको छ । तत्कालीन नगरप्रमुख देवनाथ साह तेलीसहित केही प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार थप सजायको मागसमेत गरिएको छ ।
आयोगका अनुसार पशु हाटबजारको ठेक्का र राजस्व सङ्कलनसम्बन्धी निर्णय गर्दा कानुनी प्रक्रियाविपरीत छुट दिइएको तथा ठेकेदारबाट असुल गर्नुपर्ने रकम असुल नगरी नगरपालिकालाई आर्थिक हानि पुर्याइएको आरोप छ । उक्त प्रकरणमा प्रतिवादीहरूको संलग्नता र बिगो निर्धारणका आधारमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।