काठमाडौं । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले एक विज्ञप्ति जारी गरी आईजीपी कार्कीको राजीनामाबारे आएका सबै सूचना र समाचारहरू सत्य नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै उनले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा प्रस्तुत गर्दा नागरिकमा भ्रम सिर्जना हुने र सङ्गठनको छविमा असर पर्ने उल्लेख गरेका छन् ।
अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई विज्ञप्तिमार्फत अनुरोध गरिएको छ । समाचार तथा सूचना प्रकाशन वा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको विश्वसनीयता सुनिश्चित गर्न पनि प्रहरीले आग्रह गरेको छ ।
भ्रामक प्रचार वा अनावश्यक दबाबबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न संगठन कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, प्रहरी सङ्गठनको प्रतिष्ठा र कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा भ्रामक सूचना सम्प्रेषण गरी सङ्गठनलाई कमजोर बनाउने प्रयास भएको पाइएमा प्रचलित कानुनबमोजिम अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने पनि प्रहरीले स्पष्ट पारेको छ ।
पढ्नुहोस् विज्ञप्ति–

