काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सरकारको म्याण्डेटअनुसार पूर्ण व्यावसायिक र इमान्दारितासाथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणमा आएका गृहसचिव केदारनाथ शर्मासमक्ष उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
गृह प्रशासनसँग लामो समय नजिक रहेर काम गरेको अनुभव भएको नेतृत्वलाई अभिभावकका रूपमा पाएकोमा खुसी व्यक्त गर्दै उनले गृहसचिवबाट प्राप्त मार्गदर्शन तथा नीति–निर्देशनलाई अक्षरश: पालना गर्दै नेपाल सरकारबाट सशस्त्र प्रहरी बललाई प्राप्त म्याण्डेटअनुसार पूर्ण व्यावसायिकता र इमान्दारितासाथ कार्य गर्ने प्रतिबद्धता जनाए ।
महानिरीक्षक पौडेलले संगठनका विद्यमान समस्या समाधान, आवश्यक जनशक्ति तथा स्रोतसाधनको व्यवस्थापनमा गृह मन्त्रालयबाट पूर्ण साथ र सहयोगको अपेक्षा रहेको बताए ।
निरीक्षणका क्रममा गृहसचिव शर्माले सशस्त्र प्रहरीले विपद् उद्धार तथा व्यवस्थापनका लागि प्रयोगमा ल्याएका फायर फाइटिङ, रोप रेस्क्यु, माउण्टेन रेस्क्यु, वाटर रेस्क्यु, डिप डाइभिङ, लाइफ डिटेक्टिङ तथा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर) उपकरणसहित ड्रोनलगायत सामग्रीको अवलोकन गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले सशस्त्र प्रहरी बलको कार्यादेश र संगठनात्मक संरचनाका साथै विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग, सीमा सुरक्षामा परिचालन तथा विद्यमान सुरक्षा चुनौतीका विषयमा विस्तृत प्रस्तुतीकरण गरेका थिए ।
गृहसचिव शर्माले सशस्त्र प्रहरी बल नेपाललाई विपद् व्यवस्थापनदेखि सीमा सुरक्षा र आन्तरिक सुरक्षासम्मका जिम्मेवारी थप प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक मार्गदर्शन तथा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।