काठमाडौं । नेपाल प्रहरीले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी सामाजिक सञ्जालमा फैलाइएका भ्रामक तथा तथ्यहीन सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षाकर्मी खोज, उद्धार, राहत तथा पुन:स्थापनाका कार्यमा निरन्तर खटिइरहेको जनाएको छ ।
प्रहरीका अनुसार कठिन परिस्थितिमा सुरक्षाकर्मीले आफ्नो ज्यानको समेत प्रवाह नगरी विपद्मा परेका नागरिकको उद्धार, बेपत्ता व्यक्तिको खोजी, घाइतेको उपचार, फेला परेका शवको व्यवस्थापन तथा राहत सामग्री वितरणलगायत मानवीय कार्य गरिरहेका छन् ।
तर, पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुरक्षा निकायले राहत सामग्री आफैंले लिएको, वितरण नगरेको वा राहत सामग्री सडिगली गएको जस्ता आशयका भ्रामक तथा तथ्यहीन अफवाह फैलाइएको भन्दै प्रहरीले आपत्ति जनाएको छ ।
नेपाल प्रहरीले यस्ता आरोप र अफवाहले विपद्को समयमा उद्धार तथा राहतमा खटिएका राष्ट्रसेवक सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पार्नुका साथै आम नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने र विपद् व्यवस्थापनको संवेदनशील कार्यसमेत प्रभावित पार्ने जनाएको छ ।
प्रहरीले नेपाल प्रहरीसँग कुनै पनि राहत सामग्री भण्डारण नरहेको समेत स्पष्ट पारेको छ । विपद्को समयमा नागरिकको उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मीको मनोबल कमजोर पार्ने र आम नागरिकमा भ्रम सिर्जना गर्ने किसिमका अपुष्ट सूचना तथा अफवाह प्रचार–प्रसार नगर्न प्रहरीले सबैमा आग्रह गरेको छ ।
प्रहरी नायब महानिरीक्षक एवम् केन्द्रीय प्रहरी प्रवक्ता अवि नारायण काफ्लेद्वारा जारी विज्ञप्तिमा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकाय विपद्को समयमा नागरिकको जीवनरक्षा, खोज तथा उद्धार र मानवीय सेवामा सदैव प्रतिबद्ध रहेको उल्लेख छ ।
-1788888917.jpg)