काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतको गाडीबाट घुसवापत सेवाग्राहीसँग लिएको ८ लाख रुपैयाँ बरामद गरेको छ ।
सोमबार साँझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीले छापा मार्दा गाउँपालिको अध्यक्ष राउतको प्र-२-०२-००१ झ ०००२ नम्बरको सरकारी नम्बर प्लेटको गाडीबाट घुस वापतको ८ लाख रुपैयाँसहित गाडी र चालक वीरबहादुर मगरलाई नियन्त्रणमा लिएको हो । अध्यक्ष राउत भने फरार छन् ।
अख्तियार टोली देखेपछि गाउँपालिका अध्यक्ष त्यतिबेलै भागेको र चालकले पनि ८ लाख रुपैयाँ क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ को बाटो छेउमा फ्याँकेका थिए ।
भवन निर्माण सम्पन्न पश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार टोली खटिएको थियो ।
अख्तियारका अनुसार गाउँपालिका अन्तर्गतको विकास निर्माणका योजनाहरूको कामको भुक्तानी दिन उनले ८ लाख रुपैयाँ कमिसनको रुपमा लिएको र थप अनुसन्धान भइरहेको छ ।