काठमाडौं । नेपाल प्रहरीले विपद्, दुर्घटना तथा अन्य घटनाबाट प्रभावित बालबालिकाको फोटो, भिडिओ तथा व्यक्तिगत विवरण सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक वा प्रसारण नगर्न चेतावनी दिएको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीलगायत प्राकृतिक विपद् तथा दुर्घटनाबाट प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडिओ र व्यक्तिगत विवरण सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्मसम्मान र मनोसामाजिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने भएकाले सञ्चारमाध्यम, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।
नेपाल प्रहरीले बालबालिकाको सुरक्षा, संरक्षण, गोपनीयता र सर्वोत्तम हित सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको जनाएको छ । प्रहरीले प्रचलित कानुन, पत्रकार आचारसंहिता तथा बालमैत्री सञ्चार निर्देशिका, २०७९ को पालना गर्न सम्पूर्ण सञ्चारमाध्यम, पत्रकार तथा सरोकारवालालाई आग्रह गरेको छ ।
प्रहरीको सन्देश स्पष्ट छ– विपद्मा परेका बालबालिकाको पीडालाई प्रचारको सामग्री होइन, संरक्षण र सहयोगको विषय बनाऔँ ।
