काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा हालै भएका घटनाप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएका छन् ।
आज बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री शाहले घटनामा घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए । घटनालगत्तै सुरक्षा निकाय परिचालन गरी अवस्था नियन्त्रणमा ल्याउने, थप अप्रिय घटना हुन नदिने र शान्ति–सुरक्षा कायम गर्ने काम भइरहेको उनले बताए ।
घटनाको निष्पक्ष छानबिनका लागि गृह मन्त्रालयले समिति गठन गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने स्पष्ट पारे । छानबिन प्रक्रिया पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वाससमेत उनले दिलाए ।
प्रधानमन्त्रीका अनुसार अवस्था थप बिग्रिन नदिन केन्द्रमा सर्वदलीय बैठक बसेको छ भने स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा तथा समुदायका प्रतिनिधिसँग निरन्तर संवाद भइरहेको छ । घटनास्थलको प्रत्यक्ष अनुगमन तथा पीडितसँग भेटघाटका लागि गृहमन्त्रीसहित सुरक्षा निकायका उच्च अधिकारी प्रभावित क्षेत्रमा पुगिसकेको र राष्ट्रिय सुरक्षा परिषद्ले पनि समग्र अवस्थाबारे समीक्षा गरी आवश्यक निर्णय गरिसकेको उनले बताए ।
सम्बोधनमा प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट अफवाह, अपुष्ट सूचना, घृणा फैलाउने सामग्री तथा समुदायबीच वैमनस्य बढाउने गतिविधि नगर्न सबैलाई आग्रह गरे । आधिकारिक सरकारी सूचना र तथ्यमा मात्र विश्वास गर्न उनले अनुरोध गरे ।
उनले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र शान्ति कायम गर्नु राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै शान्ति–सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सामाजिक सद्भाव खलबल्याउने गतिविधिमाथि कडा कारबाही गरिने चेतावनी दिए ।
प्रधानमन्त्री शाहले नेपालको संविधानले सबै नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक अधिकार दिएको उल्लेख गर्दै त्यसको संरक्षणमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनलाई समर्थन नगर्ने र सबै धर्मको मूल भावना करुणा, प्रेम, दया र शान्ति भएको उनको भनाइ थियो ।
देशको कुनै एक स्थानमा भएको दु:खद घटनाका आधारमा कुनै एक समुदायलाई दोषारोपण गर्नु वा त्यसको प्रतिशोधका रूपमा अन्यत्र अशान्ति फैलाउनु कुनै पनि दृष्टिले उचित नहुने प्रधानमन्त्रीले बताए । उनले इतिहासले कठिन परिस्थितिमा नेपाली समाजलाई एकता, सहिष्ण्ॉता र विवेकले नै जोगाएको स्मरण गराउँदै अहिले पनि सबैले संयमता अपनाएर राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्री शाहले आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल तथा सञ्चार माध्यमलाई धैर्य, संयम र जिम्मेवारीका साथ प्रस्तुत भई मुलुकमा शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।