दाङ । बाल विवाह न्यूनीकरणका लागि नेपाल प्रहरीका अधिकारी तथा सरोकारवालाहरू प्रतिबद्ध भएका छन ।
लुम्बिनी प्रदेशका तराइका जिल्लाका प्रहरी अधिकारी तथा प्रदेशप्रहरी कार्यालयका अधिकृतहरूले बालविवाह न्यूनीकरणकालागि सरोकारवालासँग सहकार्य गरेर जाने बताएका हुन् ।
उनीहरूले सूचनामा प्रभावकारिता नहुँदा न्यूनीकरण तथा कानुनी दायरामा ल्याउन समस्या भएको भन्दै सूचना संयन्त्र प्रभावकारी बनाउन लाग्ने समेत बताए । प्रहरी संयन्त्रमा बालविवाहको सूचना र जानकारी नै कम आउने गरेको उनीहरूको भनाइ थियो ।
बेस संस्था (ब्याकवार्ड सोसाइटी एजुकेसन)को आयोजना तथा जस्ट राइट फर चिल्ड्रेनको आर्थिक सहयोगमा दाङको चखौरामा भएको प्रहरीसँगको समन्वयात्मक बैठकमा सहभागी प्रहरी अधिकारीहरूले यस्तो बताए हुन् । बालबालिकाका लागि न्यायमा पहुँच–बाल विवाहमुक्त नेपाल अभियान अन्तर्गत कार्यक्रम आयोजना गरिएको कार्यक्रम निर्देशक पिंकी डाँगीले जानकारी दिइन् ।
उनका अनुसार बालबालिका हाम्रा छोराछोरी मात्रै होइनन्, यो देशको भविष्य हुन त्यसैले बालविवाह भविष्यको बर्बादी हो । भन्ने मूल मर्मलाई आत्मसात् गर्दै बालविवाह न्यूनीकरणसम्बन्धी विशेष अन्तरक्रिया तथा नीति संवाद कार्यक्रम गरिएको हो ।
बेस संस्थाका महासचिव लोकजन चौधरीको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशस्तरीय संसदीय मञ्चका संयोजक धनलक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यता एवम् लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शारदाप्रसाद चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रहरी अधिकृतहरू, यस अन्तरगतका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देहीका कार्यालय प्रमुख तथा मुद्दा फाँटका अधिकृत र महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा (महिला सेल)का कर्मचारीहरूको सहभागिता रहेको थियो ।