काठमाडौं । नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले आफ्नो वार्षिक उत्सवको अवसरमा उपस्थित अभिभावक एवम विद्यार्थीहरूलाई घरेलु प्रकृतिको आगलागी नियन्त्रणसम्बन्धी सचेतनामुलक जानकारी प्रदान गरेको छ ।
घरमा खाना पकाउन प्रयोग हुने ग्यास, मट्टितेलजन्य प्रजोलनशील बस्तुबाट हुनसक्ने आगलागी एवम् त्यसबाट सुरक्षित रहने उपायहरूको बारेमा विभिन्न प्रस्तुतिहरूमार्फत आफ्नो स्कुलको अभिभावकहरूलाई जानकारी गराएको थियो ।
स्कुलले आफ्नो सातौँ वार्षिकोत्सव एवम् अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मका प्रशिक्षकहरूबाट ग्यास सिलिण्डरबाट र खाना पकाउन प्रयोग हुने तेल, मट्टितेलबाट के–कसरी आगो सल्कन सक्छ र त्यसबाट कसरी सुरक्षित हुने एवम् आफ्नै प्रयासबाट आगलागी नियन्त्रण कसरी गर्ने भन्ने विषयमा जानकारी गराएको थियो ।
घर, कार्यालयहरूमा राखिने फायर एक्सिङग्युसर प्रयोगको सुरक्षित तरिका, फायरबल प्रयोग लगायतका अन्य सचेतनामुलक जानकारी समेत प्रदान गरेको थियो ।
बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले आयोजना गरेको कार्यक्रममा उत्कृष्ट कार्य गर्ने शिक्षक, कर्मचारी, प्रहरी कर्मचारी, अभिभावकका साथै विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई समेत सम्मान तथा पुरस्कृत गरिएको थियो ।
नेपाल प्रहरीले आफ्नो व्यवस्थापनमा देशभर नौ वटा विद्यालय सञ्चालन गरिरहेको । प्रहरी स्कुल शान्तिपुर चितवन भने २०७५ सालदेखि सञ्चालनमा आएको हो । गत वर्षको एसईईमा उत्कृष्ट नतिजा दिन सफल उक्त स्कुलमा हाल कक्षा एकदेखि १० सम्म गरी ५७० जना विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिएका छन् ।
यो पनि पढ्नुहोस्– नेपाल पुलिस स्कुल चितवनको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न