मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय परिसरमा स्थापित नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला सञ्चालनमा आएको छ ।
अपराध अनुसन्धानलाई छिटो, छरितो, वैज्ञानिक, विश्वसनीय र प्रमाणमुखी बनाउन उक्त प्रयोगशाला प्रहरीले गत भदौ २२ गतेदेखि सञ्चालनमा ल्याएको हो ।
यसअघि प्रहरीले काठमाडौं, धरान र नेपालगञ्जमा यस्तो प्रयोगशाला सञ्चालन रिसकेको छ । यो नेपाल प्रहरीको चौथो विधि विज्ञान प्रयोगशाला हो ।
यस प्रयोगशालामा लागूऔषध परीक्षणका साथै बायोलोजी, सिरोलोजी र डीएनएका नमुना परीक्षणहरू समेत सुरू गरिएको छ । प्रयोगशाला सञ्चालनमा आएसँगै हालसम्म विभिन्न घटनाबाट सङ्कलित १५० वटा भन्दा बढी नमूनाहरूको परीक्षण गरिएको छ ।
लागूऔषधको हकमा अधिकतम १० दिनभित्र परीक्षण सम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यतालिका बनाइएको छ । प्रयोगशालामा बागमती प्रदेशका मकवानपुर, चितवन र सिन्धुली तथा मधेश प्रदेशका बारा, रौतहट र सर्लाही जिल्लाहरूबाट शव पहिचान तथा अन्य फरेन्सिक परीक्षणका लागि नमुनाहरू प्राप्त हुन्छन् ।
अपराध अनुसन्धानमा प्रमाणको सुरक्षित व्यवस्थापन तथा वैज्ञानिक परीक्षणसँगै अपराधसँग सम्बन्धित तथ्यको विश्लेषणमा प्रयोगशालाले विशेष भूमिका निर्वाह गर्दछ । वैज्ञानिक परीक्षणबाट प्राप्त प्रमाणले अनुसन्धानलाई थप विश्वसनीय बनाउन तथा अदालतमा बलियो प्रमाण प्रस्तुत गर्ने प्रक्रियामा समेत मद्दत गर्दछ ।