काठमाडौं । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले आफ्नो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख एवम् विद्यालयका संरक्षक प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपक रेग्मीको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तारा देवी थापाको अध्यक्षतामा विद्यालयले आफ्नो सातौँ वार्षिकोत्सव तथा अभिभावक दिवस, २०८२ मनाएको हो ।
विशेष समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिनोद सिलवाल, भरतपुर महानगरपालिका शिक्षा शाखा प्रतिनिधि अर्जुन सिंह मडै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरी लगायतको उपस्थिति थियो ।
उक्त भव्य समारोहमा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, आगन्तुक विभिन्न विद्यालयका प्राचार्यहरु, विभिन्न वडा/इकाला प्रहरी कार्यालयका प्रमुखहरु तथा विद्यार्थी, अभिभावकहरुको उल्लेखनीय सहभागिता रहेको नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका समादेशक प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापाले जानकारी दिए।
कार्यक्रममा विद्यालयका संरक्षक प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिपक रेग्मीको विशेष मन्तव्यसहित विद्यार्थीहरुद्वारा विभिन्न नृत्य, गीत, कराँते प्रदर्शन तथा नेपाल प्रहरी ब्याण्ड र विपद व्यवस्थापन टीमबाट आगलागी नियन्त्रणसँग सम्बन्धित सचेतनामूलक विभिन्न प्रस्तुति गरिएको थियो ।


