सुनसरी । सुनसरीको लौकहीमा सशस्त्र प्रहरी बल (एपीएफ) को गोली लागेर सिटी सफारी चालक विजय साहको मृत्यु भएको विषयमा प्रशासन र स्थानीयबीच पाँच बुँदे सहमति भएको छ ।
घटनाको निष्पक्ष छानविन, राहत एवम् क्षतिपूर्ति, श्रीमतीलाई रोजगारी, छोरालाई जागिर तर मृतकको शव पोष्टमार्टमका लागि प्रहरीलाई हस्तान्तरण गर्नेलगायत सहमति भएको छ ।
सहमतिको बुँदा ३ र ४ मा मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने र मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवम् सहजीकरण गरिदिने उल्लेख छन् ।
यस्तै, उक्त सहमतिबाट जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजक तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेको तीन सदस्य छानबिन गठन गरिएको छ । समितिले सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।
सुनसरीको लौकही स्थित ३ नम्बर पोस्टमा बुधबार राति सशस्त्र प्रहरीको गोली लागेर स्थानीय विजय साहको मृत्यु भएको थियो । साहको मृत्युपछि स्थानीयले विरोध जनाउँदै पूर्व–पश्चिम राजमार्गको लौकहीमा सडक बन्द गरेर प्रदर्शन गरेका थिए । जसका कारण बिहीबार दिनभर उक्त सडक अस्तव्यस्त रहेको थियो ।
यस्ता छन् सहमति–
१. सशस्त्र प्रहरी बलको गोलीका कारण मृत्यु भएका विजय साहको मृत्यु र गोली प्रहार गर्नुपर्ने कारण र परिणामका सम्बन्धमा छानविन गरी सत्य तथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरीका प्र.ना.उ. र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहने गरी ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गर्ने । ।
२. छानविन समितिको प्रतिवेदन प्राप्त भए पछी सुरक्षा अधिकारीको लापरवाहीको कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपुर्तीका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरी पठाउने ।
३. मृतक विजय शाहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने ।
४. मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने ।
५. मृतक विजय शाहको शव पोष्टमार्टमको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसंस्कार गर्ने गराउने ।