काठमाडौं । पुर्व गृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिएका छन् ।
लेखकले सोमबार सिंहदरबारस्थित आयोगको कार्यालयमा पुगेर भदौ २३ र २४ गतेको घटनासम्बन्धी लिखित बयान दिएका हुन् ।
आयोगले गत शुक्रबारसम्म बयान दिन पत्र लेखेको भएपनि लेखकले सोमबार बयान दिन आउने जानकारी आयोगलाई गराएको बताएका थिए । आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गत मङ्गलबार पत्र लेख्दै बयानका बोलाएको थियो ।
आफ्नो अनुसन्धानको अन्तिम चरणमा रहेको आयोगले लेखकको बयानपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिने तयारी गरेको छ ।
लेखकले जाँचबुझ आयोगसमक्ष प्रस्तुत लिखित धारणा
श्रीमान् अध्यक्षज्यू,
भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२
सिंहदरवार, काठमाडौं
महोदय,
भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ गर्न गठिन यस आयोगबाट जाँचबुझ आयोग ऐन, २०२६ को दफा ४ (३) (क) अनुसार जानकारी लिनु पर्ने भएकाले बिस्तृत धारणा र भनाई राख्ने गरी मलाई उपस्थित हुन २०८२/०९/०९ गते पत्र प्राप्त भएको हुँदा उपस्थित भएको छु । सार्वजनिक वा शासकीय भूमिकामा रहदाको सन्दर्भमा उठेका प्रश्नहरू बारे आयोग समक्ष जानकारी दिनु मेरो कानुनी र नैतिक जिम्मेवारी हो भन्ने मान्यताका साथ म याहा उपस्थित भएको छु । आयोगबाट प्राप्त प्रश्न, जिज्ञासा बारे जानकारी गराउनका साथै लिखित रूपमा मेरा धारणा र भनाई संक्षेपमा प्रस्तुत गरेको छु ।
नेपाल र नेपालीलाई मर्माहत बनाउने गरी २०८२ भदौ २३ र २४ गते अत्यन्त दु:खद र अकल्पनीय घटना भए । भ्रष्टाचार नियन्त्रण गर्नु पर्ने, सुशासन कायम हुनुपर्ने तथा सामाजिक सञ्जालमाथिको नियन्त्रण हटाई निर्वाध सञ्चालन गरिनु पर्ने माग राखेर भदौ २३ गते जेन–जी समूहका भाइ बहिनीहरूले आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएर त्यसले हिंसात्मक र उग्र रूप लियो ।
यस घटनामा होनाहार युवाहरूले ज्यान गुमाउनु पर्यो । त्यो हृदयविदारक घटनामा ज्यान गुमाउनु हुने सबैका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
उक्त घटनामा परी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । युवा समूहका भाइ बहिनीहरूले उठाउनु भएका माग जायज थिए र ती नेपाली सबैका मन मष्तिस्कमा भएका भावना पनि हुन् । यस्ता बिषयलाई संवोधन गरिनु पर्छ र तत्कालीन सरकारले यथासम्भव यस सम्बन्धमा प्रयत्न गरिरहेकै पनि थियो । जेन–जी समूहले भदौ २३ गते प्रदर्शन गर्दैछ भन्ने पूर्व जानकारी मैले गृह प्रशासन र सुरक्षा संयन्त्रबाट पाएको थिएँ ।
तत्कालीन गृहमन्त्रीको हैसियतमा २२ गते साँझ ६ बजे मैले मन्त्रालयमा म स्वयं अध्यक्ष भएको केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको थिएँ । समितिका सदस्यहरू गृहसचिव, रक्षासचिव, नेपाली सेनाका तर्फबाट उच्च पदस्थ अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयको शान्ति सुरक्षा तथा समन्वय महाशाखा हेर्ने सहसचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौ ं प्रहरी परिसरका प्रमुख त्यस बैठकमा हुनुहुन्थ्यो । उक्त बैठक प्रारम्भ हुनु पूर्व नेपाल दुरसञ्चार प्राधिकरणका प्रमुख र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि (सहसचिव) संग सामाजिक सञ्जाल बारे जानकारी लिने काम भएको थियो ।
केन्द्रीय सुरक्षा समितिको बैठकमा सबै सुरक्षा निकायले आफूसँग भएको सूचना बारे जानकारी गराएपछि प्रदर्शनका बिषयमा छलफल र विश्लेषण भयो । बैठकले सबै सुरक्षा निकायबीच समन्वय गरी शान्ति सुरक्षा कायम गर्ने निष्कर्ष निकाल्यो । शान्ति सुरक्षाका सम्भावित चुनौतीका सन्दर्भमा गृह मन्त्रालयको राजनीतिक नेतृत्वको हैसियतमा मन्त्री स्वयं अध्यक्ष भएको केन्द्रीय सुरक्षा समितिको बैठक मार्फत मैले मन्त्रालय र सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिसंग जानकारी लिने, परिस्थितीको विश्लेषण गर्ने र त्यस अनुरूप शान्ति सुरक्षा कायम गर्ने एवं कुनै क्षति नहोस् भनी आवश्यक सतर्कता अपनाउने र समन्वय गर्ने बिषयमा निर्देशन दिने हो । म संग सूचनाको छुट्टै श्रोत थिएन ।
गृह प्रशासन र सुरक्षा निकायबाट उपलब्ध हुने सूचनाको आधारमा नै मन्त्रीले निर्देशन दिने र समन्वय गर्ने हो । भाद्र २३ गतेको प्रदर्शनका बारेमा पनि मैले गृहमन्त्रीको हैसियतले त्यही गरेको हुँ । केन्द्रीय सुरक्षा समितिको बैठकमा आवश्यकता भन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय वा योजना भएको छैन । त्यसो गर्ने न कानूनी व्यवस्था छ, नत अभ्यास नै छ । सुरक्षा निकायलाई त्यस दिन मैले गृहमन्त्रीको हैसियतले प्रष्ट रूपमा दुई तीन कुरा भनेको थिएँ ।
पहिलो, कुनै हताहति (क्याजल्टी) नहोस्, कुनै व्यक्तिको मृत्यु हुने अवस्था नआओस् । यसबारेमा सचेत रहनु होला, सावधानी अपनाउनु होला । दोस्रो, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रवन्ध मिलाउनु होला । तेस्रो, यो कुनै राजनीतिक समूहको प्रदर्शन नभएकाले नेतृत्व विहीन हुन सक्छ । प्रदर्शनमा घुसपैठ पनि हुन सक्छ, शतर्कता अपनाउनु होला । मैले बैठकमा दिएको निर्देशनको सार यति मात्रै हो ।
यस बिषयमा सरकार प्रमुखसँग पनि परामर्श गर्नु उचित हुन्छ भनेर मैले बैठक गर्नु अघि नै सम्माननीय प्रधानमन्त्रीको समय लिएको थिएँ । बैठक सकिना साथ सिंहदरवार बाट हामी सिधै बालुवाटार गयौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखलाई भोलीको सुरक्षा व्यवस्थाको तयारीमा लाग्न भनेर बालुवाटार लगिएन । प्रधानमन्त्रीको उपस्थितिमा फेरि यस विषयमा अनौपचारिक छलफल भयो । जसमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री पनि सहभागी हुनुहुन्थ्यो । सबै सुरक्षा निकायबीच समन्वय कायम गरी शान्ति सुरक्षाको व्यवस्था गर्ने अनौपचारिक निष्कर्ष बन्यो । बालुवाटार बाट छुट्टिने बेला प्रधानमन्त्री र मैले सबै सुरक्षा निकायले समन्वयमा काम गरी सुरक्षाको राम्रो प्रवन्ध मिलाउनु होला र क्याजल्टी नहोस भनेका थियौं । सबै सुरक्षा निकायका प्रमुख–प्रतिनिधि सोही अनुसार काम गर्ने भनी बिदा हुनु भएको हो । भदौ २३ गते बिहान पनि मैले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकलाई फोन गरी क्याजल्टी नहोस् है, ख्याल गर्नु होला भनेको थिएँ र त्यही कुरा गृह सचिवसँग पनि भएको थियो ।
बिहान माइतीघर मण्डलाबाट प्रदर्शन शुरु भयो । कैयौं विद्यार्थी विद्यालयको पोशाकमै थिए । काठमाण्डौ जिल्ला प्रशासनबाट प्राप्त जानकारी अनुसार शान्तिपूर्ण प्रदर्शन हुन्छ भन्ने विश्वास आयोजकले दिलाएका थिए । तर प्रदर्शनमा व्यापक घुसपैठ भयो । जेन–जीको प्रदर्शनलाई लोकतन्त्र बिरोधी तत्वहरूले हाइज्याक गरे । संसद् भवन, नयाँ वानेश्वर परिसरमा हिंसात्मक घटना भएपछि जेनजी अगुवाहरूले सामाजिक सञ्जाल मार्फत सन्देश पठाए– “हाम्रो आन्दोलन सफल भएको छ । यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइदैछ । साथीहरू आआफ्नो घर फर्किनुस्” । “धमिलो पानीमा माछा मार्न चाहने” तत्वले जेन–जीको भावना माथि खेलेर सुनियोजित रूपमा शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनायो । वानेश्वरमा प्रदर्शन उग्र एवं हिंसात्मक हुन थालेको जानकारी पाउना साथ मैले गृहमन्त्रीको हैसियतले सम्माननीय प्रधानमन्त्री, माननीय रक्षामन्त्री र नेपाली सेनाका प्रधान सेनापति समेतलाई जानकारी गराएको थिए ।
लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताका लागि लामो राजनीतिक जीवन व्यतित गरेको, नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य र मान्यताबाट दिक्षित भएको कार्यकर्ता र संविधानमा यि बिषय लिपीबद्ध गर्न कृयाशिल रहेको व्यक्तिको रूपमा पनि नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्न पाउने हक, विचार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता र आलोचना गर्न पाउने अधिकारलाई कुण्ठित वा अवरोध गर्ने बिषय मैले सोच्न पनि सक्दिन । भाद्र २३ गते शान्तिपूर्ण ढंगले आफ्ना विचार राख्ने वा शान्तिपूर्ण प्रदर्शन हुने हाम्रो विश्वास थियो तर घटना त्यस्तो मनसायबाट प्रेरित देखिएनन् ।
चार दशक भन्दा लामो राजनीतिक जीवनका क्रममा मैले राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार, विधिको शासन, अभिव्यक्ति लगायत सबै मौलिक हक एवं स्वतन्त्रताका आधारभूत मूल्य, मान्यता र सिद्धान्त प्रतिकूल हुने गरी कहिल्यै कसैसँग सम्झौता गरिनँ । सधै देश र जनतालाई सर्वोपरी मानेर अघि बढे । भदौ २३ को हृदयविदारक घटनामा युवाहरूको ज्यान गएको र कैयौं घाइते बनेको अवस्थाले मलाई मर्माहत मात्र बनाएन, मेरो मन छियाँछियाँ हुन पुग्यो । यस्तो अकल्पनीय घटना भएको अवस्थामा गृहमन्त्रीको हैसियतले नैतिक जिम्मेवारी लिदै मैले तत्काल राजीनामा गर्ने निर्णय लिएँ । राजीनामा पत्रमा पनि मैले भनेको छु ‘आज भएको दु:खद् घटनाबाट पीडा भएर नैतिकताको आधारमा म गृहमन्त्री पदबाट राजीनामा गर्छु ।’
राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान विषय हो भन्ने मेरो बिश्वास रहेको छ । त्यसै कारण नैतिकताका आधारमा राजीनामा दिएको हो । अन्यथा यस्ता प्रदर्शनहरूमा गृहमन्त्रीले बल प्रयोग गर्ने बारे कुनै लिखित र मौखिक आदेश दिने प्रश्न नै उठ्दैन । न त त्यस्तो कुनै कानूनी व्यवस्था नै छ । गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन । त्यस्तो कुनै आदेश मैले दिएको पनि छैन । सरकारको राजनीतिक नेतृत्व गरिरहेको व्यक्तिलाई बल प्रयोग गर्ने, नगर्ने वा कति गर्ने भन्ने बिषयको न त कानूनी जिम्मेवारी छ, न त यस बारे ज्ञान हुन्छ, न त व्यवहारत: त्यस्तो आदेश दिने कुरा हुन्छ । न त त्यस्तो कुनै आदेश नै दिइएको थियो ।
गृहमन्त्रीले उपलव्ध सूचनाका आधारमा समग्रमा दिशानिर्देश गर्ने हो, जुन मैले २२ गतेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गरेको थिए । प्रधानमन्त्री वा मन्त्रीले कसैलाई यति बल प्रयोग गर, यसरी गर भन्ने कुरा पनि होइन । प्रदर्शनका बेला शान्ति सुरक्षा कायम गर्ने क्रममा कहाँनेर के अवस्था र आवश्यकता पर्छ, प्रदर्शनलाई कसरी नियन्त्रण गर्ने, कति बल प्रयोग गर्ने, कसरी गर्ने, कुन अबस्थामा बल प्रयोग गर्ने भन्ने बिषय तत्कालीन अवस्थामा खटिएको सुरक्षा निकायले तत्कालीन परिस्थिती तथा बस्तुगत आधारमा बिश्लेषण गरि निर्धारण गर्ने हो । यस सम्बन्धि प्रष्ट कानूनी व्यवस्था र आधार पनि छन् । त्यस अवस्थाको निक्र्यौ ल गरी निर्णय लिने जिम्मेवारी स्थानीय प्रशासन सम्वन्धी ऐन तथा अन्य कानूनले नै प्रष्ट रूपमा सुरक्षा निकाय र स्थानीय स्तरमा तोकिएका पदाधिकारीलाई दिएको छ ।
गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको नाताले त्यस दु:खद् घटनाबाट म अत्यन्त मर्माहत भएँ । ठूलो पीडावोध भएकाले देशको गृहमन्त्रीको पदमा रहेको व्यक्तिले पदीय नैतिक जिम्मेवारी बोक्नु पर्दछ भन्ने दृढ संकल्पका साथ नैतिकताका आधारमा तत्काल घटनाको नैतिक जिम्मेवारी लिइ राजीनामा गरेको हुँ । म अहिले पनि भन्छु – भाद्र २३ को घटना हुँदा म देशको गृहमन्त्री थिएँ, मैले गृहमन्त्रीका हैसियतले काम गर्दा सदैब नेपालको संविधान, प्रचलित अन्य कानून, गृह मन्त्रालयको जिम्मेवारीसंग सम्वन्धित सरकारका नीति भित्र रहेर असल मनशाय का साथ काम गरेको छु र यि सबै बिषयका साथै मेरो व्यक्तिगत र पदीय नैतिक जिम्मेवारीलाई कहिल्यै विर्सिएको छैन ।
मेरो राजीनामा पछि भदौ २४ गतेका दिन जे जस्ता हिंसात्मक एवम् राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्र विरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन् । राष्ट्रका प्रमुख निकायहरू सिंहदरवार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन सहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्तिनँ । लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका या प्रतिनिधि संस्था माथिको आक्रमण जेन–जी पुस्ताको सोच र योजना भन्दा बिल्कुल बाहिरको विषय हो भन्ने म ठान्दछु । यो नियोजित षडयन्त्र नै थियो । यो राष्ट्र« र लोकतन्त्र माथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याई छ ।
त्यति मात्र होइन, देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालय, विभिन्न राजनीतिक दलका कार्यालय, व्यवशायिक एवं व्यापारिक प्रतिष्ठान तथा कार्यालयहरू र छानीछानी व्यक्तिका निजी सम्पत्तिमा आगो लगाएर खरानी बनाइयो । नेपालको इतिहासमा एकै दिन यति ठूलो क्षति कहिल्यै भएको थिएन । भदौ २३ र २४ गते भएको मानवीय एवं भौतिक राष्ट्रिय क्षतिप्रति म दु:ख व्यक्त गर्दछु । देशभर एकसाथ भएको यो विनाश तत्कालीन घटनाबाट उत्पन्न रीस र आवेगको उपज मात्र थियो भन्ने आधार म देख्दिनँ । भविष्यमा यसका सत्य, तथ्यहरू खुल्दै जालान् । पूर्व तयारीका साथ सुनियोजित रूपले गरिएका आक्रमण,तोडफोड र आगजनीका घटना क्षणिक आक्रोश र आवेगमा हुनै सक्दैनन् । राज्यका अमूल्य तथा महत्वपूर्ण अभिलेखहरू समाप्त गरेर र राष्ट्रि«य संरचनाहरूलाई भग्नावशेष बनाएर भविष्यमा पनि कुनै शासन व्यवस्था अघि बढ्न सक्ने कुरा होइन । त्यसकारण ती आक्रमण सुनियोजित र योजनावद्ध थिएनन्, होइनन् भनेर मेरो मनले स्वीकार गर्न सकिरहेको छैन ।
भाद्र २३ मा जेन जी पुस्ताले राखेका माग ठिक थिए भनी मैले माथि उल्लेख गरि सकेको छु र सार्वजनीक रूपले पनि भनेको छु । तर त्यो पुस्ताको असल मनोभावनामा घुसपैठ भएर जसरी जे जस्ता दु:खद् घटना भए र राज्यका ऐतिहासिक तथा अमूल्य संरचनाहरू माथि जसरी आक्रमण भए, त्यो तत्कालीन आवेगको उपज थियो भन्नु ति पवित्र मनोभाव भएका युवाहरू प्रति नै अन्याय हुन्छ । तसर्थ, भदौ २४ गतेका घटनालाई युवाको माग भन्दा पृथक ढंगले हेर्नु पर्दछ र आपराधिक कार्यमा संलग्न जो सुकैलाई कारवाही गर्नु पर्दछ भन्ने म ठान्दछु । आयोगले प्रदर्शनमा कस्ले कसरी घुसपैठ गर्यो भन्ने बिषयलाइ पनि अत्यन्त सुक्ष्म ढंगले अनुसन्धान गर्न आवश्यक छ । आयोगले बर्तमान र भबिष्य दुबैका लागि यस बिषयमा गम्भिरतापूर्वक हेर्नेछ भन्ने मेरो विश्वास छ । मुलुक र लोकतन्त्रका लागि जीवन पर्यन्त राजनीतिमा होमिएका पार्टी, नेता र कार्यकर्तालाई लाञ्छित गर्ने, उनीहरूमाथि भौतिक आक्रमण गर्ने र सम्पत्ति नष्ट गर्ने जुन काम भयो, यो क्षमायोग्य घटना होइन । यस विषयमा पनि यो आयोगले उचित छानवीन गरी सत्य, तथ्य पत्ता लगाउने नै छ ।
मन्त्रीले मूलत: आफ्नो मन्त्रालयसंग सम्वन्धीत नीतिगत र कानून निर्माणको नेतृत्व गर्ने तथा निर्देशन दिने हो । गृहमन्त्रीको हैसियतमा पदभार ग्रहण गरे लगत्तै मैले गृह प्रशासनसँग सम्बन्धित बिषयमा नीतिगत र कानूनी सुधारलाई उच्च प्राथमिकतामा राखे । शान्ति सुरक्षाका चुनौतीको सामना गर्न सुरक्षा निकायलाई व्यावसायिक बनाउनु पर्छ भनेर आवश्यक काम अघि बढाएको थिए । सुरक्षा निकायको व्यावसायिक क्षमता र दक्षता अभिवृद्धि गरी चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल सम्वन्धमा नयाँ कानून बनाउने प्रकृया अघि बढाइएको थियो । सात दशक अघि बि.सं. २०१२ सालमा बनेको नेपाल प्रहरी ऐन कार्यान्वयनमा छ । नियमावलीको आधारमा अस्थिर ढंगबाट चलिरहेको नेपाल प्रहरीको संगठनलाई स्थिर, व्यावसायिक, प्रभावकारी, सुदृढ र समयानुकल बनाउन नयाँ प्रहरी विधेयक संसदमा दर्ता भई राज्य व्यवस्था समितिको छलफलमा थियो ।
भदौ २३ गते बिहान पनि मलाई संसदीय समितिले त्यो विधेयक माथिको छलफलमा बोलाएको थियो । प्रदर्शन हुनु अघि म संसदीय समितिमै थिए । सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी नयाँ विधेयक पनि सदनमा दर्ता भई राज्य व्यवस्था समितिको छलफलमा थियो । प्रहरीका दुवै संगठन सम्बन्धि नयाँ ऐन चाडै बन्ने अवस्था थियो । त्यसैगरी गृह मन्त्रालयले गैर सरकारी संघ, संस्था (एनजीओ, आईएनजीओ) मार्फत विदेशबाट आउने सहयोग रकम कुन देश र संस्थाबाट, के प्रयोजनका लागि, कति प्राप्त भयो, उक्त रकम कहाँ, कति, कसरी खर्च भएको छ र त्यसबाट देश र जनतालाई के कस्तो लाभ भएको छ भन्ने बिषयलाई व्यवस्थित गर्न कानून बनाउने प्रकृया अन्तिम चरणमा पुर्याएको थियो । यसबीच नागरिकता सम्वन्धी विधेयक पारित भएर आमाको नाममा नागरिकता प्राप्त गर्ने व्यवस्था भैसकेको छ । यसैगरी गृह प्रशासनसँग सम्बन्धित कारागार व्यवस्थापन, कसूरजन्य सम्पत्ति व्यवस्थापन, अध्यागमन, राष्ट्रिय परिचयपत्र, जग्गा अधिकरण, स्थानीय प्रशासन सञ्चालन लगायतका क्षेत्रमा पनि नीतिगत तथा कानूनी सुधारका काम प्रारम्भ गरिएका थिए । नागरिकलाई सहज रूपले सेवा प्रदान गर्न देशका दुर्गम स्थानहरूमा इलाका प्रशासन कार्यालय बिस्तार गर्ने निर्णय गरिए । यि नीतिगत सुधारको मुख्य उद्देश्य विधिको शासन स्थापना, सुशासन र देशमा शान्ति सुव्यवस्था कायम गर्ने नै थियो ।
उल्लेखित नीतिगत एवं कानूनी सुधारको प्रारम्भका कारण मैले ह मन्त्रालयको जिम्मेवारी लिएको एक वर्षको अवधिमा नेपाल सरकारको निर्धारित माइलस्टोनको आधारमा गरिने कार्य प्रगति मूल्याङ्कनमा गृह मन्त्रालय सर्वाधिक अंक सहित एक नम्बरमा रहेको थियो भने यो उपलब्धी गत केही वर्षयताकै उच्च रहेको थियो । यसरी गृह मन्त्रालयले नीतिगत र कानूनी सुधारको प्रयत्न गरिरहेका बेला भएको दु:खद्घटनाले म मात्र होइन, सिंगो मुलुक र नेपालीलाई मर्माहत बनायो । व्यक्तिगत रूपले यो घटनामा मेरो आफ्नो पनि ठूलो क्षति भएको छ । महेन्द्रनगर र काठमाडौंका घरहरू आगो लगाएर नष्ट गरिए । खासमा ती घर मैले आफै बनाएको पनि होइन । महेन्द्रनगरका दुवै छ घर पिताजीले बनाउनु भएको हो भने काठमाडौंको घर पनि पैतृक सम्पत्ति समेतको आर्जनबाट बनाइएको हो । पिता पुर्खाको सम्पत्ति खरानी बनाइदिंदाको पीडा ‘खुकरीको मार अचानोलाई मात्र थाहा हुन्छ’ भने जस्तै भएको छ । भाद्र २४ गतेको घटनामा प्रदर्शनकारीको आक्रमणबाट जोगाउन मेरो बृद्ध र अक्सिजन लिइरहनु पर्ने सिकिस्त विरामी आमालाई लामो समय अक्सिजन बिना नै राखी अस्पताल पुर्याउनु परेको कारणले केही दिनपछि दिवंगत हुनु भयो । दश वर्षे शसस्त्र द्वन्द्व पछि तत्कालीन सरकार (सात दल) र माओवादीबीच भएको शान्ति वार्ता, अन्तरिम संविधान र वर्तमान संविधान निर्माणका क्रममा भएका औपचारिक, अनौपचारिक वार्ता, सम्वाद, छलफल वा सहमतिमा म स्वयं संलग्न भई गरेका टिपोट र संकलन गरिएका महत्वपूर्ण दस्तावेज सहित झण्डै पांच हजार पुस्तक तथा ऐतिहासिक दस्तावेज जलेर नष्ट भए । तैपनि सिंगो देश नै खरानी बनाइएका बेला मेरो व्यक्तिगत पीडालाई गौण ठानेको छु ।
लोकतन्त्रमा मुलुक, संविधान र अन्य प्रचलित कानून अनुसार विधिको शासनको मान्यता अनुरूप चल्नु पर्दछ भन्ने बिषयमा मेरो अटल विश्वास छ । मैले वडो दु:खका साथ भन्नु परेको छ, आयोगको सिफारिसमा नेपाल सरकारले तीन महिना पूर्व म समेतलाई काठमाडौं उपत्यका भित्र स्थानहद गरेको र राहदानी रोक्का गरेको मैले सञ्चार माध्यम मार्फत जानकारी पाएँ । मलाई देशको संविधान वा अन्य प्रचलित कानूनको कुन व्यवस्था अनुसार, के प्रयोजनका लागि, के औचित्यले, कति अवधिका लागि, किन स्थानहद र राहदानी रोक्का गरेको हो, कुनै लिखित वा मौखिक जानकारीसम्म दिइएको छैन । नत मलाई यस बारे सोध्ने वा जवाफ दिने मौका नै दिइएको छ । यो बिषय निर्णय गर्नु पूर्व र पछि पनि मैले विधिवत रूपमा जानकारी पाउनु पर्ने कुरा विधिको शासन र स्वच्छ सुनुवाईको सिद्धान्त भित्र नै पर्ने हो भन्ने मलाई विश्वास थियो । तर त्यो भएन । बिना कारण ,बिना जानकारी यस प्रकारका निर्णय वा कार्य गरिनु संबिधान एवं कानुनी ब्यवस्था बिपरित समेत हुन । तसर्थ यसतर्फ आयोग र सरकार सहित सबै निकायलाई विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।
सत्र–अठार वर्षको उमेरदेखि म पनि कुनै न कुनै रूपले लोकतान्त्रिक राजनीतिमा सकृय रहदै आएँ । कुशासन र भ्रष्टाचार विरुद्ध आवाज उठाएँ । मैले सार्वजनिक पदमा रहदा होस् वा नरहदा सधै नेपालको संविधान र अन्य कानूनको अधिनमा रही राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार, अभिव्यक्ति लगायत मौलिक हक र नागरिकका सबै खाले स्वतन्त्रता र सुशासनका पक्षमा उभिएको छु । जस्तो सुकै कठिन अवस्थामा पनि म यि मूल्य र मान्यता प्रति अडिग रहने प्रतिवद्धता व्यक्त गर्दछु । अन्तमा देशमा भएको यो अकल्पनीय घटना बारे स्वच्छ, निष्पक्ष र पूर्वाग्रहरहित ढंगबाट जाँचबुझ, छानविन गरी घटनाको सत्य, तथ्य पत्ता लगाई वास्तविकता उजार गर्नुका साथै भोलीको सन्ततीका लागि यो आयोगले उचित मार्ग निर्देश गर्न सकोस् भन्ने कामना गर्दछु ।