काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज पहिलोपटक पार्टी कार्यालयको भग्नावशेष च्यासल पुगेका छन् ।
नेकपा एमालेको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको तिहार विशेष कार्यक्रम ‘भेटघाट तथा चियापान’लाई सम्बोधन गर्न उनी च्यासल पुगेका हुन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेपाली सेना र नेपाल प्रहरीका विषयमा बारम्बार विभिन्न टिप्पणी गरेका छन् । नेपाल प्रहरीप्रति नरम बनेका उनी नेपाली सेनाप्रति भने केही आशङ्काको भावमा प्रकट भए । यद्यपि, आन्दोलनकारीको हुलहुज्जतबाट आफूलाई नेपाली नेपाली सेनाले नै बचाएको उनको भनाइ थियो ।
आन्दोलनका क्रममा प्रहरी अभिभावकबिहीन बनेको तथा नेपाली सेना केही कमजोरीसहित मुलुकको सुरक्षामा निस्किएको अध्यक्ष ओलीको भनाइ थियो । ‘सुरक्षा निकायहरूलाई म धन्यवाद भन्न चाहान्छु– सक्दो गर्नुभयो होला । तर, प्रहरीलाई त बेहालै भयो । प्रहरी आफैं प्रहारको निशानामा पर्यो । सहानुभूति छ,’ निवर्तमान प्रधानमन्त्री ओलीले भने, ‘प्रहरीहरू आफैं अभिभावकबिहीनजस्तो भएका छन् । त्यसर्थ जेसुकै भए पनि कहिँ कमजोरी होलान्, के होलान् । तर, फेरि पनि मलाई नेपाली सेनाले नै जोगाएको हो ।’
प्रहरीका हतियार, बर्दी, गोलीगठ्ठालगायत सुरक्षा उपकरणहरू लुटिनु र अहिलेसम्म फिर्ता नआउनु मुलुक र समाजका लागि असाध्यै खतरापूर्ण अवस्था भएको उनले बताएका छन् । प्रहरीहरूलाई कुटीकुटी, रेटीरेटी वीभत्स ढङ्गले हत्या गरिनु निन्दनीय कार्य भएको चर्चा गर्दै उनले दोषीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
प्रहरीलाई सहयोग गर्न उर्दी
अध्यक्ष ओलीले आन्दोलनापछि प्रहरीहरू विभिन्न समस्याहरूबाट गुज्रिरहेको भन्दै उनीहरूलाई जे जसरी सकिन्छ त्यसरी नै सहयोग गर्न पार्टीपङ्क्तिलाई उर्दी गरेका छन् । जेलबाट भागेकासहितका अपराधीहरू समाजमा छिरेको र उनीहरूबाट खतरा उत्पन्न भएको भन्दै ओलीले अपराधीहरूबारे जानकारी वा सुराक भए प्रहरीलाई जानकारी दिन आग्रह पनि गरेका छन् ।

‘हामीले कतै सुराक पायौँ भने प्रहरीलाई बताउनुपर्यो । साथ दिनुपर्यो,’ ओलीले भने, ‘प्रहरीका बस्ने ठाउँहरू जलाइदिएका छन्, प्रहरीहरू खालीखुट्टै छन् । उनीहरूलाई कसरी मद्दत पुर्याउन सकिन्छ हाम्रो पार्टीले त्यसमा पनि मद्दत गरिदिनुपर्यो । प्रहरीहरू आफैं अभिभावकविहीनजस्तो भएका छन् ।’
विगतमा कोही प्रहरीले कतै–कतै गल्ती गरेको भए पनि अहिले त्यो विषय गौण भएको उनले बताए । ‘प्रहरी हाम्रो हो हामीले साथ दिनुपर्छ,’ ओलीले भने, ‘वास्तवमा भन्ने हो भने प्रहरी नेपालको सुरक्षाका लागि हो । नेपालीका सुरक्षाका लागि हो । शान्ति सुव्यवस्था कायम गर्नका लागि हो । अपराध कर्म नियन्त्रण गर्नका लागि हो । अपराध भइहाल्यो भने त्यसको खोज, अध्ययन, अनुसन्धान गर्नका लागि हो । यो कुरा बुझेर हामीले प्रहरीलाई साथ र सहयोग दिनुपर्छ र सहकार्य गर्नुपर्छ ।’
प्रहरीका १२ सय हतियार लुटिनु, एक लाख भन्दा धेरै गोली लुटिनु, साढे पाँच हजार भन्दा धेरै कैदी जेजबाट बाहिरै रहनु कुनै सामान्य र मजाकको विषय नभएकोप्रति ओलीले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । ‘ति हतियार कसले किन लुटायो ? अहिले कसको हातमा छ ? जेलबाट त्यति धेरै अपराधीहरू कसले किन भगायो र तिनीहरू अहिले कहाँ छन् ?,’ ओलीले गम्भीर प्रश्नसमेत गरेका छन् ।
सो अवसरमा अध्यक्ष ओलीले एमालेले देशमा शान्ति सुव्यवस्था पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।