काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका प्रमख बालेन्द्र साह ‘बालेन’सहित चार जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भएको प्रहरी दमन, लुटपाट र आगजनीलगायत घटनामा दोषी रहेको भन्दै निवर्तमान प्रधानमन्त्री ओलीसहित निवर्तमान गृहमन्त्री रमेश लेखक, महानगर प्रमुख बालेन साह र हामी नेपाल नामक गैरसरकारी संस्थाका संस्थापक सुदन गुरुङ (जेन्जी नेता) विरुद्ध छुट्टाछुट्टै दुईवटा उजुरी परेका हुन् ।
जेन्जी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले आज मंगलबार ओली र लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका हुन् । उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसरले सरकारद्वारा गठित जाँचबुझ आयोगमा पठाएको छ ।
यस्तै, मंगलबारनै नेकपा एमाले निकट अनेरास्ववियुको टोलीले बालेन साह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिएको र प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टामा खबर गर्ने बताएको अनेरास्ववियुका नेता समिक बडालले जानकारी दिए ।
अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पत्तिको खरानी बनाएर राजनीति गरिएको भन्दै आफूहरुले विरोध गर्ने बताए । उनले सुदन गुरुङलाई लक्षित गरी अनधिकृत व्यक्ति सिंहदरबार छिरेर हुकुमी शासन चलाउन बन्द गरिनुपर्ने पनि बताएका छन् ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालतलगायत सरकारी कार्यालय र नेताहरूको घरमा पनि आगजनी भएको थियो भने प्रहरीको पनि कुटपिटबाट मृत्यु भएको थियो ।
मेयर बालेन र हामी नेपालका सुदनको तोडफोड, आजगनी र प्रहरीको कुटपिट गरि मृत्यु भएको घटनामा कुनै न कुनै रूपमा भूमिका रहेको दाबी अनेरास्ववियुको छ ।