काठमाडौं । सरकारले जेन्जी आन्दोलनका क्रममा भएका घटनाको छानबिन आयोग गठन गरेको छ ।
आज आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय छानबिन आयोग गठन गरेको हो ।
तीन महिनाको समय दिइएको आयोगमा जाँचबुझ आयोग ऐन, २०२६ अन्तर्गत गठित आयोगमा सदस्य नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर प्रसाद भण्डारी सदस्य रहेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् ।
भौतिक क्षति आकलन गर्न प्राविधिक समिति
यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही भदौ २३ र २४ गते सार्वजनिक तथा निजी भौतिक संरचनाहरूमा पुगेको क्षतिको आकलन र लेखाजोखा गर्न एक प्राविधिक समिति गठन गरेको छ ।
प्राधिकरणमा आइतबार सम्पन्न एक बैठकले क्षतिको पूर्ण मूल्याङ्कन तथा प्राविधिक परीक्षण गरी सुरक्षित नभएसम्म कुनै पनि क्षतिग्रस्त संरचनालाई पुन: प्रयोगमा नल्याउन सरोकारवालाहरूलाई अनुरोध गर्ने महत्त्वपूर्ण निर्णय पनि गरेको छ ।
प्राधिकरणका प्राविधिक सहसचिव ई. अमृत श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिले क्षति आकलनका लागि मानक प्रारूप तयार गर्ने र क्षतिको विवरण सङ्कलनका लागि उपयुक्त तथा द्रुत माध्यमको निक्र्योल गर्ने जिम्मेवारी पाएको छ ।
समितिमा राष्ट्रिय योजना आयोग, शहरी विकास तथा भवन निर्माण विभाग, पुरातत्त्व विभागका प्रतिनिधिहरू सदस्य रहेका छन् ।
यसका अतिरिक्त, नेपाल इन्जिनीयर्स एसोसिएशन, स्ट्रक्चरल इन्जिनियर्स एशोसिएसन नेपाल, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स, सोसाइटी अफ मेकानिकल इञ्जिनियर्स नेपाल, भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल र सोसाइटी अफ इलेक्ट्रिकल इञ्जिनीयर्स नेपालका एक–एक जना प्रतिनिधिहरूको समेत सहभागिता रहेको छ । यसले क्षति आकलनको कार्यलाई बहुआयामिक र विशेषज्ञतापूर्ण बनाउने अपेक्षा गरिएको छ ।