काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सुशीला कार्कीलाई आफ्नो सर्मथन रहेको स्पष्ट गर्दै राष्ट्रपतिलाई अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै बालेनले जेनजीलाई धैर्यता राख्न र नआत्तिन आग्रह गर्दै चुनावी सरकारको नेतृत्व गर्नका लागि जेनजीबाट आएको प्रस्ताव सुशीला कार्कीप्रति पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् ।
यस्तै, उनले जेन्जीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न आग्रह गर्दै अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्न सुझाव दिएका छन् ।
प्रिय जेन–जी तथा सम्पूर्ण नेपालीहरूमा मेरो आग्रह, अहिले देश एउटा इतिहासमै नभएको फरक परिस्थितिमा छ । तपाईँहरूले अहिले सुनौलो भविष्यतर्फ कदम चाल्दै हुनुहुन्छ । यो बेला कृपया नआत्तिनु होला, धैर्य राख्नु होला । अब देश अन्तरिम सरकारमा जाँदैछ, जसले देशमा नयाँ चुनाव गराउनेछ । यो अन्तरिम सरकारको काम भनेको चुनाव गराउने, देशलाई नयाँ जनादेश दिने हो ।
यो अन्तरिम/चुनावी सरकारको नेतृत्व गर्नका लागि तपाईँहरूबाट आएको प्रस्ताव पूर्व प्रधानन्यायाधीश श्रीमान् सुशीला कार्कीप्रति पूर्ण समर्थन छ । तपाईँहरूको सुझबुझ, विवेक र एकतालाई हृदयदेखि सम्मान गर्न चाहन्छु ।
तपाईँहरू कति परिपक्व हुनुहुँदो रहेछ भन्ने कुरा यसैले जनाउँछ । अहिले नै हतारमा नेतृत्वमा आउन चाहनुभएका साथीहरूलाई के भन्न चाहन्छु भने—तपाईँहरूको जोश, तपाईँहरूको सोच, तपाईँहरूको इमानदारीता देशलाई स्थायी रूपमा चाहिएको हो, अस्थायी रूपमा होइन । त्यसका लागि चुनाव त हुन्छ नै । कृपया हतार नगर्नु होला ।
सम्माननिय रास्ट्रपतिज्यू, जेन्जीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसदको विघटन अविलम्ब गर्नु होला ।