काठमाडौं । सत्तारुढ दल निकटसहित १७ विद्यार्थी संगठनले सामाजिक सञ्जाल बन्दको बिरोध गरेका छन् ।
नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति १७ विद्यार्थी संगठनले आफुहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै आइतबार संयुक्त रुपमा विरोध गरेका हुन् ।
उनीहरुले सरकारको यस कदमले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ– ‘सामाजिक सञ्जाल र सञ्चारका माध्यम बन्द हुँदा सहज सञ्चारमा अवरोध उत्पन्न भएको छ, जसले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको पहुँचलाई सङ्कुचित बनाउँदै विद्यार्थीको अध्ययन, अनुसन्धान र अन्वेषणमा समेत गम्भीर असर पारेको छ ।
त्यसैगरी, पछिल्लो तथ्यांकअनुसार नेपालमा करिब सत्तरी प्रतिशत साना तथा मझौला व्यवसायहरू सामाजिक सञ्जालमार्फत बजार विस्तार र ग्राहक सम्पर्कमा निर्भर छन् ।’
उनीहरुले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनरावलोकन गर्न, सामाजिक सञ्जाल तत्काल पुन: सञ्चालन गर्न, अभिव्यक्ति स्वतन्त्रता, शिक्षा, रोजगारी र आर्थिक अवसरमाथि खतरा उत्पन्न गर्ने नीति तुरुन्त फिर्ता लिँदै विद्यार्थी, डिजिटल सामग्री निर्माता, व्यवसायी तथा अन्य सरोकारवालासँग तत्काल संवाद गरी उपयुक्त विकल्प अवलम्बन गर्न नेपाल सरकारसमक्ष माग गरेका छन् ।
