काठमाडौं । प्रहरी महानिरीक्षक दिपक थापाले नेपालमा लागूऔषध नियन्त्रण गर्न नेपाल प्ररहीले अन्तर्राष्ट्रिय निकायहरूसँग योजनावद्ध समन्वय गरिरहेको बताएका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको शुक्रबार निरीक्षण भ्रमणपश्चात आयोजित कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्ने क्रममा महानिरीक्षक थापाले लागूऔषध नियन्त्रण, रोकथाम एवम् न्यूनीकरणमा अन्तर्राष्ट्रिय निकायहरूको समन्वयमा समेत नेपाल प्रहरीले योजनावद्ध रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताएका हुन् ।

राज्यले अख्तियार गरेका नीति तथा प्रचलित ऐन कानुनको प्रभावकारी कार्यान्वयनका साथसाथै समाजमा घटित हुने हर तरहका अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी प्राप्त निकाय नेपाल प्रहरीले लागूऔषध नियन्त्रण, रोकथाम एवम् न्यूनीकरणमा महत्त्वपूर्ण कदम चाल्दै आएको चर्चा उनले गरे ।
सुरक्षित, स्वस्थ एवम् लागूऔषधरहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको चर्चा गर्दै महानिरीक्ष थापाले आगामी दिनमा समेत यसको निरन्तरतामा ह्रास आउन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

लागूऔषध नियन्त्रण र रोकथाम कुनै एक मात्र निकायबाट सम्भव नहुने हुँदा समाजका हरेक वर्ग, तह र तप्काका सरोकारवाला निकायहरूको सामूहिक सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापाले लागूऔषध रोकथाम तथा नियन्त्रणमा स्थानीय तह, विद्यालय र हरेक परिवारसँगै समाजका अन्य सरोकारवाला निकायहरू समेतको निरन्तर साथ र सहयोगको अपेक्षा रहेको बताए ।
केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र कुबेर खापुङले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण प्रसाद कोइरालाले लागूऔषध नियन्त्रण ब्यूरोको परिचय, कार्यरत जनशक्ति तथा उपलब्ध साधन स्रोतको विवरण, नेपालमा लागूऔषध अपराधको वर्तमान अवस्था, लागूऔषध अपराधको विश्लेषण, ब्यूरोबाट गरिएका प्रहरी कारवाहीहरू, समस्या एवम् चुनौति लगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा गृहमन्त्री रमेश लेखकसहित गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायत प्रहरी अधिकृत तथा जवानहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्–
मुलुकलाई लागू औषधमुक्त बनाउन प्रभावकारीरुपमा काम गर्न गृहमन्त्री लेखकको निर्देशन