काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागू औषध मुक्त बनाउने गरी प्रभावकारी ढंगले काम गर्न जरुरी रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंको कोटेश्वरस्थित लागू औषध नियन्त्रण ब्यूरोको कार्यालय निरीक्षणका क्रममा गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, भण्डार र प्रयोग ठुलो चुनौतीका रुपमा देखिएको बताए ।
उनले भने, ‘लागू औषधको प्रयोगले सडक दुर्घटना, आत्महत्या र साइबर क्राइमका अपराधलाई पनि उत्पति गर्छ । त्यसैले हामीले एक वर्षमा लागू औषधविरुद्धको महाअभियान लागू गरेका थियौं । त्यो अभियान सार्थक भएको छ ।’
विगतका वर्षमा भन्दा पछिल्लो एक वर्षमा लागू औषध नियन्त्रणमा प्रगति भएको गृहमन्त्री लेखकले बताए । उनले भने, ‘आगामी दिनमा थप प्रभावकारी ढंगले यो चुनौतीको सामना गर्नु छ । स्रोत साधानको कमी भएपनि चहाँदा धेरै काम गर्न सकिन्छ । त्यो यो एक वर्षमा देखिएको छ ।’
लागू औषधको विगविगी देखिएको भन्दै यसविरुद्धको अभियानमा सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘खास गरेर युवाहरुमा यसको लत देखिएको छ । देशको भविष्य जोडिएको युवा शक्ति लागू औषधमा फसेको देखिएको छ । लागू औषधविरुद्धको महाअभियानले परिणाम ल्याएको छ । लागू औषधिको अपराधमा संलग्नलाई कारबाही गरेर मात्र पुग्दैन । लागू औषधविरुद्ध अभियान चलाउन आवश्यक छ । यो प्रहरीको मात्र होइन । सबै मानिसको जिम्मेवारी हो ।’
यस्तै गृहमन्त्री लेखकले लागू औषध ब्यूरोलाई विभागकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘लागू औषध व्युरोलाई विभागका रुपमा विकास गर्ने मैले प्रतिबद्धता जनाएको छु । मन्त्रालयबाट हुने सहयोग हुन्छ ।’
गृहमन्त्रीले लागू औषध ब्यूरोलाई विभागका रुपमा विकास गर्नका लागि तयारी अगाडि बढाउन प्रहरी महानिरीक्षक दिपक थापालाई निर्देशन दिए । कार्यक्रममा महानिरीक्षक थापाले लागू औषध ब्युरोलाई विभागका रुपमा विकास गर्ने गृहमन्त्रीको प्रस्ताव सराहनीय रहेको बताए ।