विराटनगर । कोशी प्रदेश प्रहरीले आर्थिक वर्ष २०८१/८२ मा १६ करोड २९ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
दुई लाख १३ हजार ६९५ वटा सवारी साधनमाथिको कारबाहीबाट प्रहरीले १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैयाँ राजस्व सङ्कलन गरेको हो । ट्राफिक नियमको बारेमा जानकारी हुँदाहुँदै पनि लापरवाहीपूर्वक सवारी साधन चलाई ट्राफिक नियम उलङ्घन गर्ने चालकहरूमाथि सो कारबाही गरिएको प्रहरीले जनाएको छ ।
यस्तै, चालकहरूले लापर्बाहीपूर्वक सवारी साधन चलाउँदा र लापर्बाहीपूर्वक सडक प्रयोग गर्दा गत आर्थिक वर्षमा कोशी प्रदेशमा मात्रै ४१८ जनाले ज्यान गुमाउन परेको छ भने ७११ जना गम्भीर र ८ हजार ५३० जना सामान्य घाइते भएको कोशी प्रहरी प्रदेश कार्यालयले जानकारी दिएको छ ।
२६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम
कोशी प्रदेशमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा प्रत्यक्ष मातहतमा रही कार्य सञ्चालन गर्ने १४ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालयसहित ९६ वटा ट्राफिक प्रहरी इकाईहरुबाट दैनिकरुपमा ट्राफिक व्यवस्थापकीय कार्यहरु सम्पादन गरिँदै आएको बताइएको छ ।
ट्राफिक व्यवस्थानपन तथा सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षतिलाई न्यूनीकरण गर्न विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१/०८२ मा कोशी प्रदेशका बिभिन्न स्थानमा २६ हजार २९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ ।
ती कार्यक्रमहरूबाट ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, आम सडक प्रयोगकर्ता तथा बिद्यार्थीहरु लाभान्वित भएको कार्यालयको भनाइ छ । ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि कोशी प्रदेशका मुख्य तथा सहायक मार्गहरुमा ९३२ स्थानमा सीसी क्यामेरा जडान गरीएको छ भने झापाको झिलझिले, विराटनगरको दुधफारम र खार्जीमा नम्बर प्लेट डिटेक्टर (एएनपीआर) सहितको सीसी क्यामेरा जडान गरिएको छ ।
लामो दूरीको सवारी साधन तथा भारतीय नम्बर प्लेटको सवारी जाँचका लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एपसहितको चेकजाँच, सार्वजानिक सवारी साधनको गति नियन्त्रणका लागि २१ स्थानमा टाइम कार्ड इन्ट्री, ट्राफिक जरिवानालाई पारदर्शी बनाउन टीभीआरएस/ई–चलान लागू गरिएको छ भने लागू पदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटनालाई न्युनिकरण गर्न कडाइका साथ लापसे र मापसे जाँच तथा तीव्र गतिबाट हुने दुर्घटना न्यूनीकरणको लागी राडरगनसहितको चेकजाँचको व्यवस्था मिलाइएको बताइएको छ ।
यसैगरी, सवारी निययम उलंघन गर्ने सवारीलाई कार्वाही तथा दुर्घटना न्युनिकरणको लागि दैनिक २३९ भन्दा बढी स्थानमा संयुक्त तथा एकलरुपमा चेकजाँच गरिँदै आएको छ ।
कोशी प्रदेश प्रहरीद्वारा एक वर्षमा २२ हजार भन्दा बढी सचेतनामूलक कार्यक्रम, लाभान्वित कति ?
कोशी प्रदेश प्रहरीद्वारा २७ हजार केजी लागूऔषध गाँजा र झण्डै १८ लाख बोट नष्ट