विराटनगर । कोशी प्रदेश प्रहरीले एक वर्षमा २२ हजार भन्दा बढी सचेतनामूलक कार्यक्रम गरेर समाजलाई सुसूचित गर्ने काम गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशअन्तर्गतका विभिन्न जिल्लाहरूमा ती कार्यक्रमहरू भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यलय खोटाङले चार हजार १५५ वटा विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरेको छ । यसैगरी, इलामले तीन हजार ५७९ वटा, सुनसरीले दुई हजार १३५ वटा, सोलुखुम्बुले दुई हजार १११ वटा, भोजपुरले एक्क हजार ९१७ वटा, झापाले एक हजार ५९८ वटा कार्यक्रम गरेका छन् ।
यसैगरी, धनकुटाले एक हजार २६० वटा, ओखलढुंगाले एक हजार १०७ वटा, उदयपुरले ८२४ वटा, संखुवासभाले ७७२ वटा, ताप्लेजुङले ७३६ वटा, मोरङले ७०५ वटा, तेह्रथुमले ६०६ वटा र पाचँथरले ६०१ वटा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका छ्न् । यी कार्यक्रमहरूबाट दुई लाख ३८ हजार भन्दा बढी सर्वसाधारणहरु लाभान्वित भएको प्रवक्ता पाखेरेलले जानकारी दिए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय पालिका, विभिन्न संघ संस्था, विद्यालयहरुसँगको समन्वय र सहकार्यमा महिला हिंसा न्यूनीकरण, लागू औषधविरुद्ध जनचेतना, ट्राफिक नियम तथा सडक सुरक्षा, साइबर अपराध/विद्युतिय अपराध, आत्महत्या न्यूनीकरण, मानव वेचविखन तथा ओसारसार, घरेलु हिंसा, लैङ्गिक हिंसा, जातीय छुवाछुत, बहुविवाह, बाल बिवाह, बालबालिकाउपर गरिने शरीरिक तथा मानसिक यातना, प्राकृतिक प्रकोपलगायत विभिन्न विषयहरुमा जनचेतना फैल्याउनुको साथै कानूनी प्रावधानहरुको बारेमा समेत जानकारी गराउँदै आइरहेको पोखरेल बताउँछन् ।
‘समुदाय–प्रहरी साझेदारी कति राम्रो हाम्रो जिम्मेवारी, नागरिक प्रहरी मिली समाजलाई बनाऔं हितकारी’ भन्ने नाराका साथ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा व्यवस्था प्रभावकारी बनाउन तथा कानून कार्यान्वयन गर्दै आम नागरिकमा प्रभावकारी प्रहरी सेवा प्रदान गर्न सक्षम र सवल रहँदै आइरहेको उनको भनाइ छ ।
समाजमा शान्ति सुरक्षा कायम राख्न गस्ती, पेट्रोलिङ, सुचना संकलन, शंकास्पद गतिविधिमा निगरानी तथा आपराधिक घटनामा तत्काल कारवाही गर्दै नागरिकलाई जनमैत्री प्रहरी सेवा प्रदान गर्न अरोरात्र परिचालित रहेको कार्यालयको दाबी छ ।