काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका छन् ।
बिहीबार अनुगमनका लागि मधेश प्रदेशस्थित नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय पुगेका उनले त्यसलगायत मातहतका गण, गुल्म तथा बोर्डर आउट पोष्ट (बीओपी) र सुरक्षा बेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई सीमा अपराध नियन्त्रणमा निर्मम ढङ्गले लाग्न निर्देशन दिएका हुन् ।
अनुगमनका क्रममा महानिरीक्षक पौडेलले सम्बन्धित सरोकारवाला निकाय तथा सीमावर्ती स्थानीय बासिन्दासँग सीमा सुरक्षा एवम् समसामयिक विषयमा हाल भइरहेका कामकारबाहीबारे जानकारी लिए । साथै, सो क्षेत्रमा कार्यरत कमाण्डरहरूलाई सीमा क्षेत्रमा हुने अवैध गतिविधिको प्रभावकारी निगरानी, नियन्त्रण तथा रोकथामलाई थप सुदृढ गर्दै उच्च सतर्कता, समन्वय र जिम्मेवारीका साथ कार्यसम्पादन गर्न निर्देशन दिएका छन् ।
सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणका लागि समयमा नै योजना बनाई सीमा अपराध तथा राजश्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रूपमा परिचालित भई नतिजामुखी काम गर्नुपर्ने महानिरीक्षक पौडेलको भनाइ थियो । सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको समेत प्रभावकारी रूपमा सञ्चालन गर्दै लानुपर्नेमा जोड दिँदै उनले सीमामा बसोबास गर्ने स्थानीय वासिन्दाहरूसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरूको सहजताका लागि समेत ध्यानमा राखी कार्य गर्न निर्देशन दिएका छन् ।
-1790876299.jpg)
वर्षातको समयलाई मध्यनजर गर्दै बाढी तथा डुवान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरूलाई आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिइएको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले धनुषाको सीमा ईलाकामा पर्ने जटही नाकाको समेत निरीक्षण भ्रमण गरी सो क्षेत्रका स्थानीय वासिन्दासँग भेटघाट गरे । साथै, सीमा अवस्था तथा शान्ति सुरक्षा लगायतका विषयमा जानकारी समेत लिएका थिए ।