काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीको ३०औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा बिहीबार सम्पन्न भएको छ ।
विविध कार्यक्रमका साथ आयोजित वार्षिकोत्सव समारोहमा केन्द्रका सल्लाहकारहरूलाई सम्मानपत्र, नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जलाई प्रशंसापत्र तथा केन्द्रको आन्तरिक सुरक्षा एवम् व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरिएको केन्द्रकी अध्यक्ष नविना खत्री कार्कीले जानकारी दिइन् ।
उनका अनुसार सो अवसरमा केन्द्रसँग सम्बन्धित विभिन्न गतिविधिहरूका सन्देशमूलक फोटोहरू तथा लागूऔषध एवम् समसामयिक विषयवस्तुहरूसँग सम्बन्धित विभिन्न लेख रचनाहरू सङ्कलन गरी केन्द्रद्वारा प्रकाशित साहित्यिक रचना ‘आसरा दर्पण २०८३’ को विमोचन पनि गरिएको थियो ।
यसैगरी केन्द्रकी अध्यक्ष खत्री कार्कीले केन्द्रका परामर्शदाता तथा कर्मचारीहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गरिन् ।
केन्द्रकी उपाध्यक्ष सुस्मिता केसी अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको सो वार्षिकोत्सवक समारोहमा केन्द्रमा उपचाररत सदस्यहरूले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन समेत प्रस्तुत गरेका थिए ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू एवम् आमन्त्रित अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।