काठमाडौं । नेपाल प्रहरी अस्पतालले रसुवा भोटेकोशी बाढीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ सुरू गरेको छ ।
बाढीका कारण फेला नपरी हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारहरूले डिएनए परीक्षण मार्फत फेला परेका शव तथा शरीरका अंग एकिन गर्न सक्ने प्रक्रिया अघि बढाउनको लागि नेपाल प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ सुरू गरेको हो ।
जस अनुसार नेपाल प्रहरी अस्पतालमा बुधबार साँझ ५ बजेसम्म सम्पर्कविहीन भएका परिवारका ५३९ वटा डीएनए प्रोफाइलिङका लागि नमुना सङ्कलन गरिएको नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले जानकारी दिए ।
‘सम्पर्कविहीन आफन्तहरू आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र २ प्रति फोटो लिएर अस्पताल आई आफ्नो नमुना दिन सक्नेछन् । उनीहरूले अस्पतालमा उपलब्ध फारम भर्नुपर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत् पश्चात विशेषज्ञ प्राविधिक टोलीबाट नमुना सङ्कलन गरिने छ,’ प्रवक्ता अधिकारीले भने, ‘सङ्कलित नमुना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाउँछौं ।’

उनका अनुसार फेला परेका शव तथा शवका अवशेषहरू सावधानीपूर्वक सङ्कलन गरिएको छ । शव फेला परेको स्थानमा आवश्यक लासजाँच मुचुल्का लगायतका कानुनी प्रक्रिया पूरा गरी शवलाई सुरक्षित रूपमा ‘डेडबडी ब्याग’ मा राख्ने, फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने, सर्वसाधारणलाई शव पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले शवका फोटो तथा उपलब्ध पहिचानसम्बन्धी विवरणहरू प्रदर्शन गरिएको छ ।
पहिचान खुल्न नसकेका शवहरूको हकमा प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत/कोड नम्बर प्रदान गरी शवको फोटो, हुलिया, पहिचान जन्य चिह्न, कपडा तथा साथमा फेला परेका सामग्री लगायतका विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको तथा वैज्ञानिक रूपमा शवको पहिचान गर्न सकिने गरी डीएनए नमूना सङ्कलन गरी सुरक्षित संरक्षण गर्ने व्यवस्था गरिएको छ ।
फेला परेका शव वा शरीरका अंगको डिएनए परीक्षण मार्फत पहिचान गर्न नजिकको रगतको नाता बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाको रगतको नमुना आवश्यक पर्नेछ । नमुना दिने व्यक्तिले पासपोर्ट साइजको फोटो दुई प्रति सहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जस्थित प्याथोलोजी ल्याब वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नेछन् ।
यसैगरी हराइरहेका विदेशी नागरिकको हकमा उक्त व्यक्तिको विदेशमै रहेका बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एक जनाले विदेशमा नै डीएनए प्रोफाइलिङ गरी तुलनाको लागि डीएनए प्रोफाइलको सफ्टकपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्नेछन् ।