काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा आज बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकले प्रहरी कर्मचारीबाट राहतस्वरूप सङ्कलन गरिएको रकमबाट मृतक प्रहरीका परिवारलाई प्रतिव्यक्ति १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
यस्तै, सम्पर्कविहीन रहेका प्रहरी कर्मचारीको खोजीलाई प्रभावकारी बनाउन परिवारका सदस्यसँग समन्वय गरी विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय पनि गरिएको छ । मृतक प्रहरी कर्मचारीले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष सापटी ऋण पनि मिनाहा गरिने भएको छ ।
यसैगरी, मृतकका परिवारबाट इच्छुक एक जनालाई सीपमूलक तालिम प्रदान गरी रोजगारीका लागि आवश्यक पहल गर्ने र सन्ततिलाई आधारभूत तहसम्म पायक पर्ने प्रहरी आवासीय विद्यालय र उच्च तहसम्म नेपाल प्रहरी आवासीय विद्यालय साँगा, काभ्रेमा शैक्षिक शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीका व्यक्तिगत सामग्रीमा भएको क्षतिका लागि जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत भएको छ । प्रभावित प्रहरी एकाइमा टिमुरे, मैलुङ, रसुवागढी, स्याफ्रुवेशी र बेत्रावती रहेका छन् ।
त्यसैगरी, नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले एक जना वरिष्ठ प्रहरी अधिकृतलाई सम्पर्क व्यक्ति तोकी मृतक, सम्पर्कविहीन तथा घाइते प्रहरी कर्मचारी र उनीहरूका आफन्त तथा परिवारलाई खोजी, उपचार र आवश्यक सेवा–सुविधा प्राप्त गर्न सहजीकरण गर्ने निर्णय गरेको छ ।
बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ प्रदान गर्ने निर्णयसमेत गरेको छ ।