काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थितिसम्बन्धी कार्यसम्पादन गर्न प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् प्रहरी वरिष्ठ उपरीक्षकहरूको कमाण्डमा विभिन्न टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
प्रहरी नायव महानिरीक्षक सुदर्शन कोईरालाको कमाण्डमा नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित ‘विपद् प्रतिकार्य समन्वय केन्द्र’ मार्फत विपद् व्यवस्थापन, उद्धार, खोजी, राहत वितरण, शव सङ्कलन एवम् व्यवस्थापन लगायत सम्रग कार्यको प्रभावकारी समन्वय भइरहेको बताइएको छ । यसैगरी प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको कमाण्डमा रहेको शिक्षण अस्पताल महाराजगञ्जको कमाण्ड पोष्टमार्फत विभिन्न अस्पतालहरूसँग समन्वयमा घाइतेको उद्धार, उपचार र शव व्यवस्थापन कार्य भइरहेको प्रहरीको भनाइ छ ।
बाढी प्रभावित क्षेत्रहरूमा घाइतेको उद्धार, राहत वितरण, मानवीय तथा भौतिक क्षतिको मूल्याङकन, शव व्यवस्थापन, अन्य सुरक्षा निकायसँग समन्वय लगायत घटनाको समग्र गतिविधि तथा वस्तुस्थितीसम्बन्धी कार्यसम्पादन गर्न आवश्यक फोटोग्राफी, ड्रोन क्यामेरा र संचार साधनसहित प्रहरी वरिष्ठ उपरीक्षकहरू सहितको टोली समेत प्रभावित जिल्लाहरूमा परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा आवश्यकता अनुरूप विपद् व्यवस्थापनको लागि प्रहरी कर्मचारीहरूलाई परिचालन गरिँदै आएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले बताए ।
‘विपद्को समयमा नागरिकको जीउ धनको सुरक्षा गर्नु नै नेपाल प्रहरीको प्रमुख दायित्व हो । सोही अनुरूप नेपाल प्रहरीले प्रभावित क्षेत्रमा उद्धार एवम् खोज कार्यमा कुनै पनि त्रुटि एवम् कमि कमजोरी हुन नदिन उपलब्ध साधन स्रोतका उच्चतम् प्रयोग गरी नागरिकको जीउ धनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ,’ उनले भने, ‘बाढी प्रभावित क्षेत्रहरूमा उद्धार एवम् खोजको लागि स्थानीय तह एवम् अन्य सुरक्षा निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रहरीले कार्य गरिरहेको छ ।’
उनका अनुसार बाढी प्रभावित क्षेत्रमा घाइतेहरूको उद्धार पश्चात मेडिकल सहायताका लागि नेपाल प्रहरी अस्पतालबाट मेडिकल टिम परिचालन गरिएको छ । प्रभावित क्षेत्रमा उद्धार एवम् खोजीको लागि ड्रोन एवम् कुकुरसहितको ‘सर्च एण्ड रेस्क्यु’ टोली छुट्टाछुटै स्थानमा परिचालन गरिएको छ । कानुनी सहायता तथा घटनास्थल सम्बन्धी मुचुल्का टोली परिचालन गरिएको छ ।
काठमाडौं, नुवाकोट र धादिङका विभिन्न स्थानहरूमा २२ वटा होल्डिङ सेन्टरहरूको व्यवस्था गरी प्रभावित क्षेत्रका घाइतेहरूको उद्धार तथा राहत वितरणलाई व्यवस्थित गरेको छ । शव सङ्कलन, पहिचान र व्यवस्थापनका लागि विशेष टोली परिचालन गरिएको छ ।
शव व्यवस्थापनमा शवको फोटो, भिडिओसहितको अभिलेखीकरण गरी डीएनए र फिङ्गर प्रिन्टको नमुना समेत सङ्कलनको लागि थप फरेन्सिक विशेषज्ञहरूसँगको समन्वयमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ भने पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ (पहिलो संशोधन, २०८३) बमोजिम स्थानीय तहसँग आवश्यक समन्वय गरी कार्य गरिरहेको छ ।
साथै फेला परेका शवहरूको सनाखतको लागि शवहरूको तस्विर ट्याग सहित नेपाल प्रहरीको वेबसाइटमा राखिएको बताइएको छ ।