काठमाडौं । रसुवा बाढी पश्चात उत्पन्न विषम परिस्थितीमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएर लागि परेको ।
सुरक्षाकर्मीहरू विपदको समयमा खोज तथा उद्दारमा व्यस्त रहने र प्रभावित क्षेत्रमा रहेको त्रासको अवस्थामा लुटपाट चोरी, ठगी जस्ता आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले नेपाल प्रहरी थप सक्रियताकासाथ लागि परेको हो ।
रसुवाको भोटेकोशीमा आएको बाढीले बगाई ल्याएको पैसा राख्ने सेफ तोडफोड गरी नगद चोरी गर्ने २९ जना शुक्रबार पक्राउ परे । धादिङ गल्छी गाउँपालिका–४ बेल्खुखोलास्थित त्रिशुली नदीको किनारमा सेफ फेला पारी सेफभित्र रहेको नगद निकाली चोरी गरेको घटनामा संलग्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूको साथबाट नगद ९२ लाख ६८ हजार ५ सय ५ रूपैयाँ समेत प्रहरीले बरामद गर्यो ।
यसैगरी प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको नाममा भ्रम सृजना गर्ने रामेछाप गोकुलगंगा गाउँपालिका–२ ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की पक्राउ परे । उनले बाढी प्रभावितहरूको उद्दार तथा राहत संकलनको लागि नेपाल सरकारद्वारा जारी गरिएको प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ लाख २० हजार रूपैयाँ रकम सहयोग गरेको भनी च्याट जिपिटिको प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जालहरूमा पोष्ट गरेका थिए ।
यस्तै बाढीले बगाई ल्याएको शवबाट कानको मुन्द्रा चोरी गर्ने चितवन भरतपुर महानगरपालिका–१ लीला चोक बस्ने २५ वर्षीय मदन गुरूङ समेत २ जनालाई भदौ ११ गते प्रहरीले पक्राउ गर्यो ।
प्रहरीले यस्ता कार्य हुन नदिन र भएका आपराधिक क्रियाकलापलाई कानूनी दायरामा ल्याउन सूचना सङ्कलन, सामाजिक सञ्जालको अनुगमन, निगरानी, प्रहरी परिचालनलाई प्रभावकारी बनाएको छ ।
‘विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट, विपद् राहत सहयोगका नाममा हुने साइबर स्क्याम लगायतका आपराधिक गतिविधि रोकथाम र संलग्नलाई कानुनी दायरमा ल्याउन नेपाल प्रहरी थप संवेदनशील भई कार्य गरिरहेको छ,’ नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले भने, ‘बाढी प्रभावित क्षेत्रमा नागरिकको जीउ धनको सुरक्षाका साथै कुनै पनि किसिमका आपराधिक गतिविधि नियन्त्रण गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गरिएको छ । साथै विपद्को नाममा हुन सक्ने साइबर स्क्याम बारे आम नागरिकलाई समेत नेपाल प्रहरीले सचेत गराउँदै आइरहेको छ ।’
बाढी प्रभावित क्षेत्रहरूमा हुन सक्ने जोखिमका कारण एवम् थप जन धनको क्षति न्यूनीकरण गर्न आम नागरिकहरूलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । त्यस्तो समयको मौका छोपी आपराधिक मनसाय भएका व्यक्तिहरूले चोरी, लुटपाट गर्न सक्ने कार्यलाई मध्यनजर गरी नेपाल प्रहरीले गस्ती एवम् निगरानी कार्यलाई अझ तीव्र एवम् प्रभावकारी बनाएको छ ।
विपदको समयमा सडक तथा पुल अवरूद्ध हुँदा उद्दार एवम् राहत वितरणमा कठिनाई भइरहेको हुँदा अवरोध सडक खुलाउन नेपाल प्रहरीले स्थानीय तह र सरोकारवाला निकायसँग आवश्यक समन्वय गरिरहेको छ । घाइतेको उद्दार एवम् विस्थापितहरूलाई राहत वितरण कार्यमा कुनै पनि त्रुटि नहुने गरी कार्य गर्न नेपाल प्रहरी सचेत छ ।
यस्ता आपराधिक गतिविधि भइरहेको वा हुनसक्ने सुचना तथा बाढी प्रभावित स्थलमा भेटिएका वहुमुल्य सामानहरू सुरक्षित राखी यथाशीघ्र नजिकको प्रहरी कार्यालय तथा १०० मा जानकारी गराउनु समेत नेपाल प्रहरीले अनुरोध गरेको छ ।